काठमाडौंँ– आकर्षक तलबसहित वैदेशिक रोजगारीमा पठाउने प्रलोभनमा पारी रकम ठगी गरेको आरोपमा प्रहरीले छ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा गोरखा आरूघाट गाउँपालिका–४ घर भई काठमाडौँ महानगरपालिका–१६ बस्ने २४ वर्षीया सरू परियार, कञ्चनपुर बेलौरी नगरपालिका–३ घर भई काठमाडौँ टोखा नगरपालिका–३ बस्ने ३२ वर्षीय जेम्स राना, काठमाडौँ कीर्तिपुर नगरपालिका–६ घर भएकी ३४ वर्षीया रेखा तुलाधार, धादिङ निलकण्ठ नगरपालिका–९ घर भई काठमाडौँ महानगरपालिका–१६ बस्ने २७ वर्षीय रवि खनाल, ताप्लेजुङ सिरिजङ्घा गाउँपालिका–१ घर भई काठमाडौँ बुढानिलकण्ठ नगरपालिका–८ बस्ने ४० वर्षीय ललितबहादुर ईवारम र ३३ वर्षीय दिपेश सुब्बा रहेका छन्।

पक्राउ परेकामध्ये सरूले अष्ट्रेलिया पठाइदिन्छु भनी एक जनासँग रु दुई लाख ५० हजार, जेम्सले क्रोएसिया पठाइदिन्छु भनी एक जनासँग रु तीन लाख, रेखाले जापान पठाइदिन्छु भनी चार जनासँग रु १३ लाख दुई हजार, रविले अमेरिका पठाइदिन्छु भनी एक जनासँग रु १४ लाख तथा ललित र दिपेशले अमेरिका पठाइदिन्छु भनी एक जनासँग रु ५३ लाख लिई सम्पर्कविहीन भएको पीडितको उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएका प्रहरीले उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरेको हो।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ।

7
Shares
२७ फाल्गुन २०८१, मंगलवार १५:१४