बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले भने, ‘राष्ट्रिय राजनीतिक परिस्थितिमा भन्दा प्रतिगामीहरु अलिकति सल्बलाएका छन्। तर जनतालाई निकै प्रभाव परेको छैन । पहिलादेखि चाहनेहरुले केही आशा गरेको पाइयो तर नेपाली जनता लोकतन्त्रको पक्षमा छन् । लोकतन्त्रलाई अझ विकसित, सुदृढ गर्नुपर्छ भन्नेमा हुनुहुन्छ।’ माओवादी बैठकमा राजतन्त्र पुनःथापना पक्षधरको काउण्टरमा प्रर्दशन गर्ने विषयमा छलफल गरेको छ।
त्यस्तै एकीकृत समाजवादीको सचिवालय बैठक पनि जारी पार्टी कार्यालयमा बसेको छ। बैठकमा राजतन्त्र पुनःस्थापना पक्षधरको आइतबारको प्रर्दशनको विषयमा छलफल भएको प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिए। उनले भने, ‘बैठकमा अहिलेको राजनीतिक अवस्थाका बारेमा छलफल भयो। राजावादीहरु सलबलाइ रहेका छन्। त्यसका विषयमा छलफल भयो। बैठकले गणतन्त्रको विकल्प उन्नत गणतन्त्र मात्रै हुने निष्कर्ष निकालेको छ।’बैठकले पश्चयगामी शक्तिको विरुद्धमा सबैलाई एक जुट हुन आह्वान गरेको छ। ‘प्रतिगमनकारी शक्तिका विरुद्ध एक हुनुपर्ने निष्कर्ष निकालका छौँ। गणतन्त्रको पक्षमा उभिन दल र नागरिकहरुलाई अपिल गरेका छौँ, ज्वालाले भने। उनले पार्टीका तर्फबाट गर्ने आन्दोलनका कार्यक्रम चैत १ गते सार्वजनिक गर्ने जानकारी दिए।
दुवै दलको बैठकपछि दिउँसो ४ बजे समाजवादी मोर्चाको बैठक बोलाइएको छ। बैठकले राजतन्त्र पक्षधरको काउण्डरमा परिवर्तनको रक्षाका लागि भन्दै प्रर्दशन गर्ने निर्णय हुनेछ। समाजवादी मोर्चामा माओवादी केन्द्र, एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा छन्। समाजवादी मोर्चाले चैत २४ गते सरकारविरुद्ध जनप्रदर्शनसहितको सभा गर्ने निर्णय गरेको थियो।