यो खेलसँगै गोल्डकपको सेमिफाइनलको समीकरण पूरा भएको छ । यसअघि नेपाल पुलिस, थ्रीस्टार र विभागीय टिम त्रिभूवन आर्मी सेमिफाइनलमा पुगिसकेका छन् ।
चर्च ब्वाइजले फाइनल प्रवेशको लागि सोमबार नेपाल पुलिससँग खेल्नेछ । चर्च ब्वाइजको जितको लागि विदेशी खेलाडी रिचर्ड र आकाश राईले गोल गरेका थिए । खेलको ३५ औं मिनेटमा चर्च ब्वाइजले अग्रता लिएको थियो । लाक्पा पाख्रिनको पासमा रिचर्डले चलाखीपूर्ण ढंगले पोस्टको दिशा दिएका थिए ।चर्च ब्वाइजका लागि दोस्रो गोल ६४ औं मिनेटमा आकाशले गरे । दोस्रो हाफपछि चन्दन दासको ठाउँमा आकाश मैदान प्रवेश गरेका थिए ।
एनआरटी पहिलो हाफमा १–० गोलले पछि पर्यो ।दोस्रो हाफमा एनआरटीले पाएका केही अवसरलाई चर्च ब्वाइजका रक्षापंक्तिका खेलाडीले विफल तुल्याइदिए । चर्च ब्वाइजको बलियो रक्षापंक्ति तोड्न नसक्दा एनआरटी पहिलो खेलबाटै घर फर्किन बाध्य भयो ।खेलको १४ औँ मिनेटमा डिबक्स भित्रबाट एनआरटीका राजिव लोप्चनले गरेको कडा प्रहार चर्च ब्वाइजका गोल रक्षक टेकेन्द्र सिंह थापाले उत्कृष्ट बचाए । २४ औं मिनेटमा एनआरटीका विदेशी खेलाडी अर्मनले गरेको प्रहार चर्च ब्वाइजका गोल रक्षक टेकेन्द्र बाधक बनिदिए । ३३ औ मिनेटमा फोदेले वान भर्सेस वानको सुन्दर गोल गर्ने अवसर खेर फाले । उनको प्रहार बार माथिबाट बाहिरियो । ४० औ मिनेटमा चर्च ब्वाइजका विदेशी खेलाडी आबयोमि डिबक्स भित्रबाट गरेको कडा प्रहार पोसमाथिबाट बाहिरियो ।
चर्च ब्वाइजले एक महिना अगाडी धरानमा सम्पन्न भएको २५ औं संस्करणको बुढासुब्बा गोल्डकपको फाइनलमा हारेको बदला पनि विराट गोल्डकपमा आएर लिएको छ । २७ माघमा सम्पन्न बुढासुब्बा गोल्डकपको फाइनलमा चर्च ब्वाइज युनाइटेडलाई २–१ गोलले पराजित गर्दै एनआरटीले उपाधि उचालेको थियो ।
एनआरटी र चर्च ब्वाइज युनाइटेडको यो सिजनको मोफसलमा भएको फुटबल प्रतियोगितामा चौथो पटकको भेट हो । जसमध्ये दुई एनआरटी र दुई चर्च ब्वाइजले जितेको छ ।
प्रतियोगिताको प्लेयर अफ द म्याच चर्च ब्वाइजका गोल रक्षक टेकेन्द्रसिंह थापा घोषित भए । उनले नगद ११ हजार पाए । आइतबारको पहिलो सेमिफाइनल खेल विभागीय टिम त्रिभूवन आर्मी र थ्रीस्टार बिच हुनेछ ।