उक्त सन्देशपछि प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालगायतका राजनीतिक दलका नेताहरुले पूर्वराजा शाहलाई पार्टी खोलेर निर्वाचनबाट आउन चुनौती दिँदै आएका छन्।
सोही अभिव्यक्तिप्रति लक्षित गर्दै अध्यक्ष लिङ्देनले राजा भोटको राजनीतिभन्दा धेरै माथिको संस्था भएको बताए। उनले अहिलेका नेताहरुसँग आफूहरु नै चुनाव लड्न पर्याप्त रहेको बताए। आफूहरुले राजनीतिक दलको राजा नभई देशको राजा स्थापित गर्न खोजेको बताए।उनले भने, ‘राजाले पहाडमा नभएर मधेसको जनताले रोजगारी पाओस्। मधेसको जनताले गरिखाने वातावरण निर्माण होस् भनेर खोलेको उद्योगधन्दाहरु बेचेर खाए। कृषि औजार कारखाना, चिनी कारखाना, जनकपुर चुरोट कारखाना बन्द गरे र आज दर्जनौँ भ्रष्टाचार काण्डहरुमा उनीहरुको नाम मुछिएको छ। त्यस्ता नेताहरु अहिले राजालाई ललकार्दै छन्। राजा चुनाव लड्न आऊ भनेर। म भन्छु, तपाईंहरुसँग चुनाव हामी लड्छौँ। राजाले चुनाव लड्ने होइन। चुनाव लड्नको लागि हामी जस्ता मानिसहरु छौँ। हामीले खोजेको राजा, हामीले स्थापित गर्न खोजेको राजा तपाईंहरुसँग चुनाव लड्ने होइन। राजनैतिक दलको राजा होइन, देशको राजा खोजेको हो। राजा राजनीतिक दलभन्दा र भोटको राजनीति भन्दा माथि रहने संस्था हो।’
अध्यक्ष लिङ्देनले अहिलेका राजनीतिक दलहरु देशभित्रै युवाहरुले गरिखाने वातावरण बनाउनेतर्फ अग्रसर नभएको बताए। अहिलेका राजनीतिक दल र नेताहरुले ३५ वर्षको समयमा केही काम गर्न नसकेको बताए।