पूर्वविश्व च्याम्पियन अमेरिकी ग्रान्डमास्टर बबी फिसरले परम्परागत चेसलाई रोचक बनाउने प्रयासस्वरुप फ्रिस्टाइल चेस सुरु गरेका थिए । यसैको प्रतियोगिता आयोजना गर्दै हिमालयन चेस एकेडेमीले नेपालमा फ्रिस्टाइल चेसलाई भित्र्याउने पहल गरेको हो । ‘परम्परागत चेस जेन जी (नयाँ पुस्ता) का लागि खासै रोचक भएन । सिद्धान्तअनुसार खेलिने चेसलाई नयाँपन दिँदै फ्रिस्टाइल चेसले रोचक बनाएको छ । त्यसैले हामीले पहिलोपल्ट नेपालमा फ्रिस्टाइल चेसको प्रतियोगिता आयोजना गर्न लागिएको हो ।’
च्याम्पियनसिपका चिफ आर्बिटर याइशाष यासिर खम्बूकाअनुसार फ्रिस्टाइल चेस लिग कम नकआउटको आधारमा सञ्चालन गरिने छ । सहभागी खेलाडीलाई ४ समूहमा विभाजन गरी समूह चरणका खेल एकेडेमीको थापाथलीस्थित चेस हलमा गरिने छ । समूह विजेता ४ खेलाडी फाइनलमा प्रवेश गर्नेछन् ।उनीहरूले नकआउटको आधारमा चैत १ गते होटल रोयल सिंगीमा हुने फाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।एकेडेमीले आफ्नो वार्षिकोत्सव चैत १ गते शुक्रबार एकसाथ २ प्रतियोगिता आयोजना गर्दैछ । फ्रिस्टाइल च्याम्पियनसिपसँगै ‘हिमालयन ब्लिज कप’ आयोजना गर्न लागेको हो ।
फ्रिस्टाइलको शीर्ष ४ मा स्थान बनाउन असफल खेलाडीसँगै अरु चेस खेलाडीले स्वीस प्रणालीको आधारमा हुने एक दिने ब्लिज कप खेल्नेछन् । २ प्रतियोगिताको कुल पुरस्कार १ लाख २५ हजार रुपैयाँ छ । फ्रिस्टाइलको विजेताले २५ हजार, उपविजेताले ९ हजार ६ सय तथा सेमिफाइनलमा पराजित हुने २ खेलाडीले जनही ६ हजार ४ सय पाउने छन् ।१६ स्पर्धा समावेश ब्लिज कपको विजेताले १५ हजार, उपविजेताले ७ हजार ५ सय, तेस्रोले ६ हजार र चौथो हुनेले ४ हजार प्राप्त गर्ने छन् । ब्लिज कपमा शीर्ष १०, महिलासँगै गल्र्स र ब्वाइजका यू ८, यू १०, यू १२, यू १४, यू १६ विजेता, एचसीए बेस्ट, ५० वर्षमाथिको भेट्रान, अनरेटेडतर्फका उत्कृष्ट, फिडे रेटिङ २ हजार र १ हजार ७ सय मुनिका उत्कृष्ट खेलाडीले पनि नगद पुरस्कार पाउने छन् ।