विराटनगर। थ्रीस्टार क्लब विराटनगरमा जारी ९ औं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ। विराटनगरको सहिद रंगशालामा शुक्रबार सम्पन्न तेस्रो क्वाटरफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन मछिन्द्र एफसीलाई २–१ गोलले निराश बनाउँदै थ्रीस्टार क्लब सेमिफाइनल पुगेको हो।

जितसँगै थ्रीस्टारले आइतबार पहिलो सेमिफाइनल खेल विभागीय टिम त्रिभूवन आर्मीसँग प्रतिस्पर्धा गर्नेछ। जितका लागि पुर्व बिजेता टिम समेत रहेको थ्रीस्टारका आशिष चापागाइ र दिपेश घलेले समान एक–एक गोल गरे।

खेल सुरु भएको १५ औ मिनेटमा थ्रीस्टारका आशिष चापागाइले गोल गरेर टिमलाई अग्रता दिलाए। एन्जल महर्जनले निकालेको क्रस पासलाई आशिषले डिबक्स भित्रबाट गरेको प्रहारले जाली चुमाए। अग्रता लिएको १० मिनेट बित्न नपाउँदै २५ आँै मिनेटमा दिपेश घलेले व्यक्तिगत दोस्रो गोल गरेर टिमको जित सुनिश्चित गरे।

मछिन्द्रका क्याप्टेन देवेन्द्र तामाङ्गले खेलको अन्त्य तिर ८९ औं मिनेटमा सान्तवना गोल फर्काए। उनले डिबक्स भित्र हेडिङ्गमार्फत आकर्षक गोल गरेका थिए। थ्रीस्टारका दिपेश घले म्यान अफ द म्याच घोषित भए। उनले नगद ११ हजार पाए।

35
Shares
२३ फाल्गुन २०८१, शुक्रबार २१:१७