विराटनगर । नेकपा (एमाले) मोरङको १० औं जिल्ला अधिवेशनअन्तर्गतको मतगणना अहिले पनि जारी छ ।पार्टी कार्यालय पाञ्चालीमा जारी मतगणनाको पछिल्लो विवरण अनुसार इतर पक्षको प्यानल नै अगाडि छ । इतर पक्षका उम्मेदवारको अग्रता झन् बढिरहेको छ ।
खसेको ८ सय ८८ मतमध्ये हालसम्म ४ सय ३८ मतगणना भइसकेको छ । जसमा अध्यक्षका उम्मेदवार अजम्बर राई प्रतिस्पर्धी राजनकुमार ओझाभन्दा २३ मतको अगाडि छन् ।
इतर पक्षका राईले २ सय २५ मत ल्याउँदा संस्थापन पक्षका ओझाले २ सय १२ मत पाएका छन् । उपाध्यक्षमा इतर पक्षका सागर थापाले २ सय २८ मत पाउँदा संस्थापनतर्फका शान्तिकुमारी लिम्बू भुजेलले १ सय ८६ मत पाएकी छन् । सचिवमा इतर पक्षका सोमराज थापाले २ सय ३० मत पाउँदा संस्थापन पक्षका रविन थापाले १ सय ८० मत ल्याएका छन् । उपसचिवमा इतर पक्षका सन्तोष वान्तवाले २ सय ३९ मत पाउँदा संस्थापनका ईजालाल राजवंशीले १ सय ६३ मत ल्याएका छन् ।उपसचिवमै इतर पक्षका उषा झाले २ सय ८ मत ल्याउँदा संस्थापन पक्षका शिल्पा निराला कार्कीले २ सय ४ मत पाएकी छन् । एमाले मोरङको नयाँ नेतृत्व चयनका लागि बुधबार मतदान भएको थियो । बिहीबार दिउँसोबाट मतगणना जारी छ ।