विराटनगर । नेकपा (एमाले) मोरङको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना आज (बिहीबार) गरिँदै छ । पार्टी कार्यालय पाञ्चालीमा बिहान ८ बजेपछि मतगणना सुरु हुने प्रमुख निर्वाचन अधिकृत सुरेशलाल श्रेष्ठले जानकारी दिए । उनका अनुसार मतदानस्थल विराटनगरको होटल मनास्लु इनबाट मतपेटिका बुधबार राति नै पार्टी कार्यालय पुर्याइसकिएको छ ।

मतगणना सकेर आजै मतपरिणाम सार्वजनिक गर्ने तयारी रहेको श्रेष्ठले बताए । एमालेको जिल्ला नेतृत्वको टुंगो लगाउन हिजो मतदान भएको थियो । मतदानमा ८ सय ८८ मत खसेको छ । ९ सय ११ जना प्रतिनिधिमध्ये २३ जना अनुपस्थित रहे ।

एमाले मोरङको १० औं जिल्ला अधिवेशन फागुन १७ गतेबाट सुरु भएको थियो । नयाँ नेतृत्व चयनका लागि मतदान गर्नुपर्ने भएपछि सोमबार सक्ने भनिएको अधिवेशन लम्बिएको थियो ।

एमाले मोरङको नयाँ जिल्ला कमिटी ५ पदाधिकारीसहित १ सय ६५ सदस्यीय हुने छ । तीमध्ये ७१ जना सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् । निर्विरोध भएबाहेकको पदका लागि निर्वाचन भएको हो ।

अधिवेशनमा संस्थापन पक्षबाट अध्यक्षमा राजकुमार ओझा, उपाध्यक्षमा शान्ति लिम्बू भुजेल, सचिवमा रविन थापा, उपसचिवमा शिल्पा निराला कार्की र ईजालाल राजवंशीको उम्मेदवारी परेको थियो । इतर पक्षबाट अध्यक्षमा अजम्बर राई, उपाध्यक्षमा सागर थापा, सचिवमा सोमराज थापा, उपसचिवमा सन्तोष वान्तवा र उषा झा छन् ।
28
Shares
२२ फाल्गुन २०८१, बिहीबार ०९:१२