प्रज्ञापन पत्रमा उल्लेख भएको भन्दा बढी सामान ढुवानीका साधनमा राखेर तस्करी गर्ने गरिएको भन्सार स्रोतले बतायो । स्रोतका अनुसार व्यापारी, कर्मचारी र भन्सार एजेन्टको मिलेमतो बिना त्यो सम्भव छैन ।
भन्सारबाट जाँचपास भएको भन्दा बढी परिमाणको सामान ल्याइएको सूचनाका आधारमा प्रहरीले सोमबार साँझ एउटा भारतीय ट्रक नियन्त्रणमा लिएको छ । विराटनगर महानगरपालिका–१८ स्थित आईसीपी रोडबाट युपी ८७–९१८१ नम्बरको ट्रकसहित सामान र चालकलाई नियन्त्रणमा लिइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।उनका अनुसार उक्त ट्रकमा भन्सारबाट पास गरिएको भन्दा बढी मूल्यका सामानहरु रहेको सूचना साँझ आएको थियो । त्यसलगत्तै खटिएको इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर प्रकाश थापा नेतृत्वको टोलीले ट्रक नियन्त्रणमा लिएको हो ।
जोशीका अनुसार ट्रकमा विद्युतीय, फुड सप्लिमेन्ट्री, शृंगारका सामान, मेडिकल उपकरणजस्ता वस्तु लोड गरिएको प्रज्ञापन पत्रमा उल्लेख छ । ४५ लाख रूपैयाँ बराबरको सामान र ट्रकसहित चालक भारतीय नागरिक ३५ वर्षीय मोहमद अस्लामलाई नियन्त्रणमा लिइएको उनले बताए ।