करिब २ तोलाको तिलहरीबाहेक सुनका अरु गहना भने त्यत्तिकै छाडिएको छ । ज्वेलर्सबाट २५ किलो चाँदीका गहना, २ तोला सुनको तिलहरी र १५ हजार रूपैयाँ नगद चोरी भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।
ृउनका अनुसार उर्लाबारी नगरपालिका–४ आइतबारेमा कुमार लिम्बूको घर भाडामा लिएर रमेश विकले न्यू पाथीभरा ज्वेलर्स सञ्चालन गर्दै आएका थिए । उक्त ज्वेलर्समा आइतबार राति चोरी भएको हुनसक्ने प्रहरीले जनाएको छ । प्रहरीले घटनाका बारेमा सोमबार बिहान १० बजेतिर मात्रै जानकारी पाएको थियो ।पसलको गाह्रो भत्काएर चोरी गरेको पाइएको डीएसपी जोशीले बताए । उनका अनुसार ज्वेलर्स सञ्चालकले २५ किलो चाँदीका गरगहना, २ तोलाको सुनको तिलहरी र १५ हजार रूपैयाँ नगद चोरी भएको जानकारी गराएका छन् ।
तर, पसलमा रहेको अरु सुन भने चोरी नभएको प्रहरीले जनाएको छ । ‘ठूलो परिमाणमा चाँदीका गहना र करिब २ तोला सुनको तिलहरीसहित केही नगद लगेको पाइयो । तर, पसलमा भएको अरु सुन जस्ताको तस्तै छाडिएको रहेछ,’ डीएसपी जोशीले भने ।प्रहरीका अनुसार चोरीमा संलग्नले पसलभित्र रहेको सीसी क्यामेराको ‘ब्याकअप स्टोरेज’ नै लिएर गएको पाइयो । चोरीमा संलग्नको पहिचान हुन बाँकी रहेको र खोजीका लागि इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्स्पेक्टर राकेश यादवको नेतृत्वमा टोली परिचालन गरिएको डीएसपी जोशीले बताए । उनका अनुसार विभिन्न कोणबाट घटनाको अनुसन्धान सुरु गरिएको छ ।