विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरबाट विभिन्न समयमा हराएका ५ जना बालबालिका भारतको कटिहारमा भेटिएका छन् ।

फेला परेका ३ जना बालक र २ जना बालिकालाई उद्धार गरेर शनिबार विराटनगर ल्याइएको छ । तीमध्ये २ जना १ वर्षअघि र ३ जना गत कात्तिकदेखि बेपत्ता भएका थिए । उनीहरु ७ देखि १७ वर्षसम्मका छन् ।

भारतको किन इन्डिया नामक संस्था र नेपालको शुभ अवसर ग्रामको समन्वयमा उनीहरुलाई राष्ट्रिय बालअधिकार परिषद् बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्र १०४ कोशी प्रदेशले उद्धार गरेर विराटनगर ल्याएको हो । केन्द्रका प्रदेश समन्वय अधिकृत सुमन अधिकारीका अनुसार भारतमा भेटिएका बालबालिकालाई प्रक्रिया पूरा गरेर नेपाल ल्याइएको छ ।

उनीहरुलाई कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको रोहबरमा विराटनगर महानगरपालिकामार्फत सम्बन्धित परिवारसँग आइतबार पुर्नमिलन गराइने जानकारी अधिकारीले दिए । 

अधिकारीका अनुसार पाँचै जना बालबालिकालाई भारतको बलकल्याण समितिले उद्धार गरेर कटिहारस्थित बालकल्याण गृहमा राखेको थियो । राष्ट्रिय बालअधिकार परिषद् बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्रको टोली कटिहार पुगेर उनीहरुलाई उद्धार गरी नेपाल ल्याएको हो ।

उद्धार गरिएका बालबालिकाहरु मुस्लिम र मधेशी समुदायका हुन् । 

140
Shares
१२ माघ २०८१, शनिबार २२:४१