विराटनगर । नेपालको लाङटाङ राष्ट्रिय निकुञ्जमा रहेको याला हिमनदी सन् २०४० को दशकमै हराइसक्ने एक अध्ययनले देखाएको छ । विश्व मौसम सङ्गठन (डब्ल्यूएमओ) र विश्व हिमनदी निगरानी सेवाले गरेको अध्ययनले याला हिमनदी सन् २०४० को दशकमै हराउने निष्कर्ष निकालेको हो ।
अनुसन्धानकर्ताहरूका अनुसार याला हिमनदीको क्षेत्रफल सन् १८७४ देखि सन् २०२१ को बीचमा ६ सय ८० मिटरले घटेको छ । यस्तै हिमनदी फैलिएको क्षेत्र पनि ३६ प्रतिशतले घटेको छ । याला हिमनदी नेपालमा सबैभन्दा धेरै अध्ययन भएको हिमनदी पनि हो । विश्वव्यापी रूपमा भएको तापक्रम वृद्धिका कारण हिमनदी पग्लिएको अध्ययनको निष्कर्ष छ ।

यो ‘ग्लोबल ग्लेसियर कजल्टी लिस्ट’ मा रहेका १५ हिमनदीमध्येको एक र हिन्दुकुश हिमालय क्षेत्रको एकमात्र हिमनदी हो । यो सूचीका दुई वटा हिमनदी यसअघि नै हराइसकेका छन् ।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को अध्ययन अनुसार हिन्दुकुश हिमालय क्षेत्रको तापक्रम वृद्धि विश्वको औसत तापमान वृद्धिभन्दा दोब्बर गतिमा भइरहेको छ । हिन्दुकुश क्षेत्रका हिमनदी विनाशले झन्डै २४ करोड मानिसको जलस्रोतमा प्रत्यक्ष असर पार्ने अध्ययनले देखाएको छ । हिमनदी पग्लिएर बन्ने हिमतालहरूको विस्फोटनले तल्लो तटीय क्षेत्रमा ठूलो जनधनको क्षति हुनसक्ने जोखिम पनि बढेको छ ।

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-५  थामेमा गत साउन ३२ गते शुक्रबार हिमताल फुटेर बाढी बस्तीमा पस्दा ठूलो क्षति भएको थियो।

बाढीले खुम्बु पासाङल्हामु-५ थामेका २० घर तथा होटल लज, एउटा स्वास्थ्यचौकी र विद्यालय बगाउनुका साथै बाढीले स्थानीय विद्युत् आयोजनाको विद्युत् गृह पूर्ण रुपले क्षतिग्रस्त बनाएको थियो।

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)ले सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार नेपालका २१ हिमताल फुट्ने जोखिममा छन् ।

70
Shares
१० माघ २०८१, बिहीबार ०९:०९