‘नाटक ‘द स्ट्रङ्गर’ निर्देशन गर्नु मेरो लागि एउटा कार्ययोजना सम्पन्न गर्नुभन्दा बढी म आफैंसँगको ऐकान्तिक यात्राको रुपमा मैले लिएको छु । व्यक्तिभित्र निहित मौनता, क्षमता वा कमजोरीहरुसँगै आफूभित्रका अपूर्णताहरुलाई चिर्नका लागि दृढ संकल्प राख्ने कुरा अत्यन्तै महत्वपूर्ण पक्ष रहेछ भनेर यस नाटकले पुनःस्मरण गराएको छ,’ निर्देशक स्जेनी सुनुवारले भनिन्ना,’ ‘नाटकको कथानक अघि बढ्दै जाँदा तपाईंले त्यसमा आफूलाई पाउन पनि सक्नुहुनेछ । नाटकको मौनताभित्र कहिँकतै उत्पन्न हुने तरङ्गहरुले तपाईंकै कथा भनिरहेको पनि प्रतीत हुनसक्छ।’
निर्देशक जेनी सुनुवारले सन् २०१६ देखि नाट्यक्षेत्रमा काम गर्दै आएकी छन्। ललितकला क्याम्पसबाट फाइन आर्ट्स (ग्राफिक डिजाइन र भिजुअल कम्युनिकेसन)मा स्नातक गरेकी जेनी स्टेज डिजाइन, नाट्यसामग्री निर्माण र भेषभुषा डिजाइन पनि गर्छिन्। ह्याम्लेट, शिरिषको फूल, पल्पसा क्याफेलगायत विभिन्न नाटकमा काम गरेकी छन्।थिएटर भिलेज नेपालका अनुसार नाटकले ऐतिहासिक रूपमा महिलाहरूलाई प्रदान गरिएको अपेक्षित पारम्परिक भूमिकामाथि प्रश्न गर्दै समाजले परिभाषित गरेका सत्ता-शक्ति, सौन्दर्य र प्रभावका स्थापत्यमाथि आलोचनात्मक मत राखेको छ।
नाटक ‘द स्ट्रङ्गर’ एक स्विडिस नाटक हो, जसलाई अगस्ट स्ट्राइन्डबर्गले सन् १८८९ मा लेखेका हुन्। नाटक ‘द स्ट्रङ्गर’ आफ्ना सिमितताहरुमाथि चुनौती पेस गर्ने शारीरिक नाट्यप्रस्तुति हो।ललितपुरको महालक्ष्मीस्थानस्थित गैरनाफामूलक नाट्यसंस्था, थिएटर भिलेज नेपालले नेपाली रंगमञ्चलाई पुनर्परिभाषित गर्ने उद्देश्यका साथ काम गर्दै आएको छ।
ललितपुरको महालक्ष्मीस्थानस्थित थिएटर भिलेज नेपालले एउटा व्यावसायिक रुपमा व्यवस्थित, प्रविधिले सुसम्पन्न र दीर्घकालीन रंगमञ्च निर्माणको लागि स्थानीय र अन्तर्राष्ट्रिय रंगमञ्चसम्बद्ध संस्थाहरुसँग सहकार्य गर्ने योजनामा यतिबेला काम गरिरहेको छ । नाटक माघ १२ गतेसम्म नाटक मञ्चन हुने छ।