झापा- झापाको कचनकवल गाउँपालिकाका लेखा अधिकृत गोविन्द रिजालले धम्कीपूर्ण अभिव्यक्ति तथा चरित्रहत्या गर्ने शिक्षक रत्नकुमार बुढाथोकीसहित अन्य दुई व्यक्तिहरूविरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन्।

सामाजिक सञ्जालमार्फत जथाभावी अभिव्यक्ति दिएर आफ्नो नाम, पद, र प्रतिष्ठामा आँच पुर्याइएको, धम्कीपूर्ण वातावरण सिर्जना गरिएको र कार्यक्षेत्रमा मानसिक दबाब पारेको भन्दै लेखा अधिकृतले जिल्ला प्रशासनमा उजुरी दिएका हुन्।

रिजालले पेश गरेको निवेदनमा लक्ष्मी माध्यमिक विद्यालयका शिक्षक रत्नकुमार बुढाथोकीले फेसबुकमा लेखा अधिकृतलाई लक्षित गर्दै धम्कीपूर्ण शैलीमा लेखेका अभिव्यक्तिहरूलाई मुख्य प्रमाणका रूपमा समावेश गरिएको छ।

बुढाथोकीले ‘भोलि शिक्षकको तलब आएन भने पर्सी सुरक्षाकर्मी अगाडि पछाडि राखेर बस्नु कचनकवलको लेखा अधिकृतज्यू’ लगायतका धम्कीपूर्ण अभिव्यक्तिहरू सार्वजनिक गरेका थिए। साथै, उनले लेखा अधिकृतको प्रतिष्ठामा आँच पुर्याउने नियतले अन्य व्यक्तिहरूसँग मिलेर आधारहीन आरोप लगाएको उजुरीमा उल्लेख छ।

निवेदनमा उल्लेख गरिएअनुसार, उनीहरुले बिना प्रमाण एकोहोरो आरोप लगाउँदै कर्मचारीको मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव पारेको र कार्यालयको वातावरण असहज बनाएको उल्लेख गरिएको छ।

लेखा अधिकृत रिजालले त्रास र धम्कीका कारण कार्यालयको काम गर्न असहज परिस्थिति सिर्जना भएको उल्लेख गर्दै दोषीहरूमाथि साइबर अपराध अन्तर्गत कारबाही गर्न माग गरेका छन्। साथै, आफ्नो व्यक्तिगत र पेशागत सुरक्षाको सुनिश्चितता गरिदिन समेत अनुरोध गरेका छन्।

उजुरीका विषयमा आफूले उक्साहटमा रिजालविरुद्ध त्यस्तो अभिव्यक्ति दिएको शिक्षक बुढाथोकीले बताए। गाउँपालिकाको कार्यपालिका बैठकले उनलाई स्पष्टीकरण सोध्नेसमेत निर्णय गरेको छ।

56
Shares
२६ पुष २०८१, शुक्रबार १०:५७