कोशी प्रदेशको उद्योग कृषि तथा सहकारी मन्त्रालयले सुनसरीको इटहरीमा रहेको अम्बे कोशी बचत तथा ऋण सहकारी संस्थालाई समस्याग्रस्त भएको घोषणा गरेको छ।

प्रदेश सरकारले वरिष्ठ अधिवक्ता भरतबहादुर थापाको संयोजकत्वमा प्रदेशमा रहेका संकटग्रस्त सहकारीको व्यवस्थापन समिति गठन गरेको थियो। सोही समितिले पाँच दिनको अध्ययनपछि अम्बे सहकारी समस्याग्रस्त भएको जनाएको हो।

मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डेले समस्याग्रस्त घोषणा गरिएको सहकारीको विषयमा थप अध्ययन भइरहेको जानकारी दिए।

सचिव पाण्डेले भने, ‘हामी प्रदेशमा रहेका सहकारीहरुको अध्ययनमा छौँ। पहिलो चरणमा अम्बे कोशी सहकारीको अवस्थाबारे घोषणा गरेका हौँ। अब बाँकी समस्यामा रहेका सहकारीलाई पनि घोषणा गर्दै समस्याको हलका लागि काम अघि बढाउने छौँ।’

समस्याग्रस्त घोषणा गरिएको अम्बेका अध्यक्ष फणिन्द्र मगर पुर्पक्षका लागि थुनामा रहेका छन्। यद्धपि, पक्राउ परेका संस्थाका अन्य कतिपय सञ्चालकहरु भने धरौटीमा रिहा भएका छन्।

इटहरीमा केन्द्रीय कार्यालय रहेको सहकारीले मोरङको विराटचोक, विराटनगर र दमकका १३ हजारबढी सर्वसाधरणको ६१ करोड बढी बचत अपचलन गरेको बुझिएको छ।

28
Shares
२४ पुष २०८१, बुधबार ०५:०१