विराटनगर । विराटनगर महानगरपालिकाले उच्च प्राथमिकतामा राखेको महानगर अटिजम सेवा केन्द्र सञ्चालनका लागि दुई पक्षीय सम्झौता भएको छ ।

अटिजम सेवा केन्द्र सञ्चालनका लागि साझेदार संस्थाका रुपमा छनौट भएको करुणा फाउण्डेसन नेपाल र विराटनगर महानगरपालिकाबीच सोमबार सम्झौतापत्र आदानप्रदान भएको छ ।

सेवा केन्द्रमा आयोजित कार्यक्रममा महानगरका मेयर नागेश कोइराला, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, फाउण्डेसनका तर्फबाट कार्यकारी निर्देशक दीपकराज सापकोटा र कोशी प्रदेश प्रमुख योगेन्द्र गिरीले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सम्झौताअनुसार फाउण्डेसनले अटिजम सञ्चालनमा प्राविधिक सहयोग गर्नेछ । जसअन्तर्गत सेवा केन्द्रमा कार्यरत जनशक्तिलाई तालिम दिने, अटिजम भएका बालबालिकाको प्रोफाइल तयार गर्ने, फिजियोथेरापी, स्पीच थेरापी (बोल्न सिकाउने), बालबालिका र अभिभावकलाई मनोचिकित्सक सेवा प्रदानलगायतका प्राविधिक क्रियाकलापमा सहयोग गर्ने सम्झौतामा उल्लेख छ ।

अटिजम सेवा केन्द्रको आफ्नै भौतिक संरचना निर्माणका लागि स्रोत जुटाउन समन्वय र सहयोग गरी सम्झौता भएको महानगरको स्वास्थ्य महाशाखा संयोजक डा. दिलीपकुमार यादवले जानकारी दिए ।
21
Shares
२३ पुष २०८१, मंगलवार १२:४७