विराटनगर । विराटनगर एक्स्पोको आठौं संस्करण माघमा आयोजना गरिने भएको छ । माघ ११ गतेदेखि औद्योगिक एवं व्यापारिक महोत्सव आयोजना गर्न लागिएको हो ।

उद्योग संगठन मोरङले आयोजना गर्ने एक्स्पो १० दिनसम्म सञ्चालन हुनेछ । आठौं विराट एक्स्पो डिग्री कलेज विराटनगरको मैदानमा हुने उद्योग संगठन मोरङले जनाएको छ । उद्योग संगठनले सोमबार पत्रकार सम्मेलन गरेर एक्स्पोको तयारी थालिएको जानकारी दिएको छ । ‘डिजिटल कोशी बिल्डिङ इनोभेशन एण्ड इन्भेष्टमेन्ट’ नाराका साथ सञ्चालन हुने एक्स्पोमा २ सय ६८ वटा स्टलहरु रहनेछन् ।

एक्स्पोमा ९ पेभिलियनमा विराट बजार बिटुबीको १२ वटा, स्टार्टअप भिजन कोशी ह्याकाथुनको १२ वटा, रोजगार कोशीका लागि १२ वटा, व्यावसायिक सेवा प्रदायकको ४० वटा, अटोमोवाइल्सका २० वटा, औद्योगिक क्षेत्रका ७५ वटा, औद्योगिक, कर्पोरेट र कृषिका ७५ वटा स्टल रहनेछन् । एक्स्पोमा रोजगारीका लागि तालिम पनि दिने बताइएको छ ।

एक्स्पोमा स्टार्टअफ कन्फ्रेन्स, रोजगार कोशी, इनर्जी इफिसियन्सी, ‘मेरो देश, मेरो उत्पादन’लगायत कार्यक्रम आयोजना गरिने विराट एक्स्पो २०२५ व्यवस्थापन समिति संयोजक भोलेश्वर दुलालले जानकारी दिए ।

एक्स्पो सञ्चालनका लागि करिब ३ करोड खर्च हुने अनुमान गरिएको उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले जानकारी दिए । नयाँ उद्यमीलाई प्रोत्साहन गर्ने उदेश्यले एक्स्पो आयोजना गरिएको उनको भनाइ छ ।

105
Shares
२२ पुष २०८१, सोमबार १६:५१