खोटाङ । सुमो दुर्घटनामा गम्भीर घाइते केपिलासगढी गाउँपालिका-१ फेदीका ७२ वर्षीय दुर्गाप्रसाद राईको उपचारका क्रममा मृत्यु भएको छ ।  काठमाडौंबाट यात्रु लिई फर्किंदै गरेको ना१ज ७१८१ नंको सुमो केपिलासगढी गाउँपालिका-३ बास्पानीस्थित राँटीमा दुर्घटना हुँदा गम्भीर घाइते भएका राईको जिल्ला अस्पताल खोटाङमा मृत्यु भएको हो ।

राईलाई दुर्घटनास्थलबाट अचेत अवस्थामा उद्धार गरेर गाउँपालिकाको एम्बुलेन्समार्फत उपचारका लागि अस्पताल लगिएको थियो । राईको टाउको तथा शरीरका विभिन्न अङ्गमा गहिरो चोट लागेकाले बचाउन नसकिएको जिल्ला अस्पताल खोटाङका प्रमुख डा. रुपेश सङ्ग्रौलाले बताए ।

सडकमै रोकेर राखेको सुमो आफैँ गुडेर दुर्घटना भएपछि फरार भएका सुमो चालक ऐँसेलुखर्क गाउँपालिका–१ राखाबाङ्देल निवासी ३६ वर्षीय शत्रुधन राई प्रहरी चौकी खार्मीको सम्पर्कमा पुगेका थिए ।
35
Shares
११ पुष २०८१, बिहीबार ०८:१७