विराटनगर । विराटनगर महानगरपालिकाले पाठेघरको मुखको क्यान्सरको परीक्षण (स्क्रिनिङ) औपचारिक रुपमा सुरु गरेको छ ।

महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, विराटनगर–१५ का अध्यक्ष प्रकाश साह, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेललगायतको उपस्थितिमा क्यान्सरको जाँच सुरु गरिएको हो ।

करुणा फाउण्डेशनसँगको सहकार्यमा विराटनगर–१५ स्थित रानी अस्पतालबाट सुरु गरिएको पाठेघरको मुखको क्यान्सरको परीक्षण शिविर १९ वटै वडामा सञ्चालन गरिने मेयर कोइरालाले बताए । शिविरबाहेक महानगरअन्तर्गतका सबै स्वास्थ्य संस्थाबाट नियमित परीक्षण गर्ने व्यवस्थासमेत मिलाइएको मेयर कोइरालाले बताए ।

पाठेघरको मुखको क्यान्सरका कारण महिलाहरूले अकालमै ज्यान गुमाउनु नपरोस् भनेर महानगरले व्यापक रुपमा पाठेघरको मुखको क्यान्सरको जाँच सुरु गरेको उनको भनाइ थियो ।

महानगरको स्वास्थ्य महाशाखा संयोजक डा. दिलीपकुमार यादवका अनुसार पाठेघरको मुखको क्यान्सरको जाँच १९ वटै वडामा नियमित हुनेछ । त्यसका लागि महानगरले ४२ जना स्वास्थ्यकर्मीहरूलाई भीआईए परीक्षणसम्बन्धी तालिम दिइसकेको छ ।

शिविरमा नोवेल अस्पतालका दुईजना स्त्रीरोग विशेषज्ञसहित रानी अस्पतालका चिकित्सक र तालिम प्राप्त स्वास्थ्यकर्मीहरूले पाठेघरको मुखको क्यान्सरको जाँच गरेका थिए । मंगलबार ५८ जनाले परीक्षण गरेको नर्सिङ अधिकृत मीना अधिकारीले जानकारी दिनुभयो । परीक्षण गरेका ५८ जनामा कुनै समस्या नदेखिएको अधिकारीले बताए ।

84
Shares
९ पुष २०८१, मंगलवार १८:५२