धनगढी – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पछिल्लो समय नेपाली कांग्रेस बरालिएको हो कि भन्ने महसुस भइरहेको बताएका छन्।

नेपाल प्रजातन्त्र सेनानी संघ सुदूरपश्चिमको प्रथम प्रदेश अधिवेशनको शनिबार धनगढीमा उद्घाटन गर्दै कोइरालाले पार्टीभित्रका कतिपय तिक्तता स्वाभाविक भए पनि देश र जनताका हितमा एक ढिक्का हुनै पर्ने बताए। नभए लोकतन्त्र कमजोर हुँदै अधिनायकवाद आउन सक्ने बताउँदै उनले दलभित्र पनि एकताबद्ध भएर अघि बढ्नुपर्ने उल्लेख गरे।

आफू पार्टीको केन्द्रीय नेतृत्वमा पुगेपछि सबैलाई समान र उचित अवसर रहने उनले बताए। अधिकांश जिल्लाका नेता र कार्यकर्ताले आफूहरू पार्टीको केन्द्रीय नेतृत्वबाट अन्यायमा परेको, गुटका आधारमा पक्षपात गरेको र आफूहरूलाई अवसरबाट वञ्चित गरेको गुनासो गरेको भन्दै उनले आफू नेतृत्वमा पुगे सबैलाई मिलाएर लैजाने बताए।

सुदूरपश्चिमको ३ दिने भ्रमणका क्रममा धनगढी पुगेका कोइरालाले आफ्नो पक्षका नेता कार्यकर्तालाई भने, ‘म सबैलाई समान र उचित अवसरका लागि पार्टीभित्र लडिरहेका छु, विगतमा तपाईंंहरूमाथि अन्याय भएको छ। उचित अवसर पाउनु भएको छैन। तपाईंहरूको पीडा म बुझ्छु। अब १५औँ महाधिवेशनपछि न्याय हुन्छ। म कसैलाई पक्षपात गर्दिनँ।’

उनले गठबन्धन हुँदा कांग्रेस र एमालेबीच भएको सात बुँदे सहमतिको पालना गर्नुपर्ने बताए। सहकारी पीडकहरूलाई पक्राउ गर्नुका साथै सहकारी पीडितहरूलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन पनि उनले सरकारको ध्यानकर्षण गराए।

देशको अर्थ राजनीति, छिमेकी मुलुकहरूसँगको लेनदेनको अर्थ व्यवस्था र दातृनिकायको ऋणलाई समेत केलाउँदै देशको बजेटले देश चल्नै नसक्ने अवस्थामा पुगेकोतर्फ सचेत रहन उनले सरकारलाई आग्रह गरे।

कोइरालाले संविधानमा सुधार गरेर निर्वाचनमा कुनै एक दलको बहुमत आउने गरी निर्वाचन प्रणालीमा सुधारको आवश्यकता रहेको बताएका छन्। सुदूरपश्चिम भ्रमणको पहिलो दिन कोइरालाले नौवटै जिल्लाका नेता तथा कार्यकर्तासँग छुट्टाछुट्टै अन्तरक्रिया गरेका थिए।

धनगढीमा रहेका कोइरालालाई भेटन सुदूरपश्चिमका नौ वटै जिल्लाका उनी पक्षीय नेता तथा कार्यक्रता धनगढी पुगेका छन्। संस्थापन अर्थात देउवा पक्षका नेता तथा कार्यक्रताको भने कार्यक्रममा सहभागिता न्यून रहेको थियो।

7
Shares
७ पुष २०८१, आईतवार ०६:४०