विराटनगर । नेपाल–भारत होमियोप्याथिक वैज्ञानिक स्वास्थ्य शिखर सम्मेलन विराटनगरमा शनिबारदेखि सुरु भएको छ । नेपाल होमियोप्याथिक चिकित्सक संघको आयोजनामा सुरु भएको २ दिने सम्मेलनमा बोल्दै संघका महासचिव डाक्टर रवि प्रकाशले संघले स्थापना कालदेखि नै कोशी प्रदेशमा फैलिएका रोगहरु विरुद्ध शिविर सञ्चालन गर्दे आएको बताए ।

उनले दादुरा, ठेउला, इनसेफ्लाइटिस, लहरे खोकी, स्वाइनफ्ल्यु, कोरोना महामारीमा स्वास्थ्य शिविर सञ्चालन गरी नागरिकमा स्वास्थ्य सेवा प्रवाह गरेको बताएका हुन् ।

छुट्टै होमियोप्याथिक मेडिकल काउन्सिल स्थापना गर्नुपर्ने, सरकारद्धारा होमियोप्याथिक मेडिकल कलेज एवम् होमियोप्याथिक हस्पिटलको स्थापना गरी सञ्चालन गर्नुपर्ने, स्वास्थ्य मन्त्रालय होमियोप्याथिक डेस्क हुनुपर्ने, स्वास्थ्य महाशाखामा छुट्टै होमियोप्याथिक डेस्क हुनुपर्ने, नेपालमा एउटा पनि होमियोप्याथिक औषधि उत्पादक कम्पनी नभएकाले सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्दै होमियोप्याथिक औषधि उत्पादक कम्पनी खोल्न सहजीकरण र अनुदानको व्यवस्था गर्नुपर्ने माग डाक्टर रवि प्रकाशले राखे ।

यस्तै कार्यक्रममा बोल्दै डाक्टर विष्णु मिश्रलगायतका चिकित्सकहरुले होमियोप्याथिक चिकित्सा पद्धतिलाई सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रममा समावेश गर्नुपर्ने, सरकारको तर्फबाट होमियोप्याथिक चिकित्सकलाई विदेशमा हुने अन्तर्राष्ट्रिय सम्मेलन, गोष्ठीका लागि बजेटको व्यवस्था गर्न माग गरे ।

कार्यक्रमको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले होमियोप्याथिक चिकित्सा प्रणालीलाई व्यवस्थित सहज र सरल बनाउन होमियोप्याथिक चिकित्सा प्रणालीको विकास, विस्तार र सुदृढीकरण आवश्यक रहेको बताए । बर्सेनी नेपालबाट होमियाे चिकित्सा अध्ययनका लागि विदेशिने गरेको बताउँदै, उनले होमियोप्याथिक चिकित्सा प्रणालीलाई व्यवस्थित गर्न २ देखि ३ सदस्यीय अध्ययन कार्यदल बनाएर अगाडि बढ्ने बताए ।

होमियोप्याथिक चिकित्सामा देखिएका नकरात्मक प्रतिक्रियालाई निरुत्साहन गर्दै विश्वास बढाउनु पर्ने बताउँदै, मुख्यमन्त्री कार्कीले भने, ‘होमियोप्याथिक काउन्सिल र कलेज खोल्नका लागि सरकारले आवश्यक सहकार्य र समन्वय गर्ने छ ।’

सो अवसरमा होमियोप्याथिक चिकित्सा क्षेत्रमा विशेष योगदान पुर्याउने होमियोप्याथिक चिकित्सक संघका संस्थापक डाक्टर जीवन प्रकाशलाई लाइफ टाइम एचिभमेन्ट अवार्डले सम्मान गरियो ।

त्यस्तै, गोल्डेन सर्भिस अवार्डबाट डाक्टर समिर खान र डाक्टर प्रेमनारायण श्रीवास्तवलाई सम्मान गरिएको थियो । डाक्टर नियाज अहमद र लामो समयसम्म होमियो क्षेत्रमा उल्लेखीय योगदान गरेबापत गोपाल गुप्ता, सकलदेव मण्डल र लेखनाथ भट्टलाई पनि मुख्यमन्त्री कार्कीले सम्मान गरे ।

नेपाल होमियोप्याथिक चिकित्सक संघका अध्यक्ष डाक्टर रविन्द्र रायको अध्यक्षतामा भएको होमियोप्याथिक वैज्ञानिक स्वास्थ्य शिखर सम्मेलनमा नेपाल र भारतका गरेर ३ सय जनाको सहभागिता रहेको छ ।

35
Shares
७ पुष २०८१, आईतवार ०६:२३