विराटनगर । कोसी प्रदेश सरकारले आयोजना गर्ने तय भएको लगानी सम्मेलन प्रदेश सरकारले नै गर्न मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताएका छन् । प्रदेश सभाको सुशासन तथा योजना समितिको बैठकमा मुख्यमन्त्री कार्कीले बाहिर चर्चा गरेजस्तो विवाद नरहेको दाबी गरे ।

‘कुनै एउटा सङ्गठनको ब्यानरमा नभए सम्मेलन सरकारले गर्ने हो । तयारी पूरा भएपछि एउटा ‘ग्रान्ड’ पत्रकार सम्मेलन गरेर थप जानकारी गराउने तयारी छ, सरकार मूल आयोजक हुनेछ। पूर्ण प्रस्ताव बनेपछि थप छलफल हुनेछ,’मुख्यमन्त्री कार्कीले भने ,’मलेसियाका पूर्व अर्थमन्त्री आउने प्रतिबद्धता जनाउनु भएको छ । विश्व बैङ्कका पूर्व सिइओ पनि आउने सम्भावना छ । प्रधानमन्त्री र पूर्व प्रधानमन्त्रीहरू पनि सहभागी हुनुहुनेछ । यो, साझा लगानी सम्मेलन हो ।’

यसका लागि तीन करोड तीस लाख रुपैयाँ विनियोजन भएकोसमेत मुख्यमन्त्री कार्कीले जानकारी दिए ।

बजेट लगानी बोर्डलाई पठाइएको र बजेट बाँडफाँट गरेर बोर्डले पास गरेको कार्कीले जानकारी दिए । मुख्यमन्त्री कार्कीले राजनीतिक दल, नेपाल सरकारका माथिल्ला निकाय, संसदीय दल, लगानी बोर्ड तथा योजना आयोग आदिको सल्लाह सुझाव समेत लिएर अघि बढिरहेको बताए ।

लगानी सम्मेलनका विषयमा विभिन्न प्रश्न उठिरहेको सन्दर्भमा प्रदेश सभाको सुशासन तथा योजना समितिले मुख्यमन्त्री हिक्मत कार्की र प्रदेश लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सरोज कोइरालासँग छलफल गरेको थियो ।

कोशी प्रदेश सरकारले माघ ११ गतेदेखि तीन दिनसम्म विराटनगरमा लगानी सम्मेलन आयोजना गर्ने तयारी गरेको छ ।

7
Shares
४ पुष २०८१, बिहीबार १७:०३