काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल)मा अब बुधबारबाट सुरु हुने ‘प्लेअफ’ चरणका खेलहरु सुरु हँदै छन्।

दिनको पहिलो खेलमा ‘एलिमिनेटर’ चरणको खेल हुँदैछ। जहाँ हार्ने टिम प्रतियोगिताबाट बाहिरिने छ।

लिग चरणमा तेस्रो स्थानमा रहेर प्लेअफमा पुगेको चितवन राइनोज र चौथो स्थानमा रहेको कर्णाली याक्सबीच एलिमिनेटर अन्तर्गत बिहान ९ बजे टीयू मैदान कीर्तिपुरमा खेल हुने छ।

क्वालिफायर २ मा पुग्नका लागि चितवन र कर्णालीबीच प्रतिस्पर्धा हुने छ। यो खेल जित्ने टोलीले फाइनल पुग्न अन्तिम प्रतिस्पर्धाको मौका पाउने छ। पराजित टोली प्रतियोगितामा चौंथो स्थानमा रहेर यात्रा अन्त गर्ने छ।

लिग चरणमा चितवन र कर्णाली दुवैले ७ मध्ये समान ४ खेल जितेका थिए। ८ अंक जोडेपनि नेटरनरेटमा चितवन कर्णाली भन्दा अघि रहँदै तेस्रो भएको थियो। अन्तिम खेलमा सुदूरपश्चिमसँग पराजित भएपनि ८ अंक जोडेको अर्को टोली काठमान्डु गुर्खाजलाई नेटरनरेटमा पछि पार्दै कर्णाली याक्स प्लेअफ पुग्ने चौथो अर्थात अन्तिम टोली बनेको थियो।

लिग चरणमा यी दुई टोली भेट हुँदा कर्णालीले चितवनलाई ६ विकेटले पराजित गरेको थियो। लिगमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ७ विकेट गुमाएर १३० रन बनाएको थियो। १ सय ३१ रनको लक्ष्य कर्णालीले अन्तिम बल अघि ४ विकेट गुमाएर १३२ रन बनाउँदै पूरा गरेको थियो।

चितवनले प्लेअफ सम्मको यात्राका क्रममा काठमान्डुलाई ५ विकेट, पोखरालाई ८७ रन, सुदूरपश्चिमलाई ३३ रन र जनकपुरलाइ ३२ रनले हराएको थियो। लिगको शीर्ष स्थानमा रहेको सुदुरपश्चिमको लिगमा एकमात्र हार चितवनसँग मात्र भएको थियो। चितवन बिराटनगर, लुम्बिनी र कर्णालीसँग भने पराजित भएको थियो।

त्यस्तै कर्णालीले प्लेअफमा स्थान बनाउने क्रममा सुरुवाती दुई खेल हार्दै लगातार चार जित निकालेको थियो। जसमा चितवनलाई ६ विकेट, बिराटनगरलाई ७ रन, पोखरालाई ७ विकेट र लुम्बिनीलाई ५ रनले हराएको थियो। कर्णाली जनकपुर, काठमान्डु र सुदुरपश्चिम सँग पराजित भएको थियो।

कर्णाली याक्सको टोली :
सोमपाल कामी (कप्तान), गुलशन झा, अर्जुन घर्ती, दिपक डुम्रे, दिपेन्द्र रावत, युनिस विक्रम ठकुरी, मौसम ढकाल, ऋत गौतम, भुवन कार्की, नन्दन यादव, बिपिन प्रसाद शर्मा, देव खनाल, बाबर हायात (हङकङ), चाडविक वाल्टन (वेस्टइन्डिज), जिशान मकसूद (ओमान)

चितवन राइनोजको टोली:
कुशल मल्ल (कप्तान), रिजन ढकाल, शरद भेषवाकर, बिपिन रावल, दिपक बोहरा,अमर रौटेला, दिपेश श्रेष्ठ, रञ्जित कुमार, सन्तोष कार्की, गौतम केसी, सलाउद्दीन खान, नरबहादुर सार्की, रभी बोपारा (इंग्ल्यान्ड), हसन इसाखिल (अफगानिस्तान), लुक बेन्केन्स्टाइन (इंग्ल्यान्ड) जन निकोल लोफ्टाइ-इटन (नामिबिया), सोहेल तन्वीर (पाकिस्तान)

21
Shares
३ पुष २०८१, बुधबार ०७:४७