झापा । गोलरक्षक निरज चौधरी नायक बन्दा इटहरीको राष्ट्रिय जागृति क्लब झापाको विर्तामोडमा जारी झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

टाइब्रेकरमा भारतको जीटीए दार्जिलिङलाई ४–२ गोल अन्तरले हराउँदै जागृतिले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

टाइब्रेकरमा जागृतिका प्रवेश दनुवार, सविन घिमिरे, योगेन्द्र कार्की र विदेशी खेलाडी नाम्दी इबोसीले गोल गरे भने निशान लिम्बूको प्रहार बारमा लागेर फर्कियो ।

जीटीएका आशिष देवान र प्रितम राईले मात्रै गोल गरे भने अंगद थापा मगर र भाइचुङ राईको प्रहार गोलरक्षक निरज चौधरीले बचाउ गरे ।

यसअघि खेलको १७ औं मिनेटमा जागृतिका लागि प्रवेश बस्नेतले गोल गर्दै टोलीलाई अग्रता दिलाए । डिबक्समा अनमार्क रहेका बस्नेतले खमिर गिल्सन कन्दङ्वाको क्रस पासलाई सदुपयोग गर्दै गोल गरे ।

खेलको २० औं मिनेटमा डिफेन्डर निवास रानाको ह्यान्ड बल भएको थियो । त्यसपछि जागृतिका मिलन राईले गरेको पेनाल्टी प्रहार जीटीएका गोलरक्षकले बचाउ गर्दा अग्रता दोब्बर गर्ने अवसर गुम्यो ।

खेलको २२ औं मिनेटमा जीटीएले खेल बराबरी गर्यो । देवाशिष राईले मैदानको मध्यभागबाट २ जना डिफेन्डरलाई बिट गर्दै विपक्षी गोलपोस्टमा प्रहार गरेका थिए । गोलरक्षकबाट रिबाउन्स भएको बललाई उनले गोलमा परिणत गरे ।

३६ औं मिनेटमा जीटीएका कप्तान आशिष देवानको कर्नर प्रहारमा ज्योति क्षेत्रीले गरेको हेडर गोलरक्षक निरज चौधरीले गोल लाइनबाट बचाए ।

पाँचौं मिनेटमा जागृतिका मिलन राईले डिबक्समा वान भर्सेस वान पाएको अवसर गुमाए । उनको पावरफुल सट गोलरक्षकले उत्कृष्ट बचाउ गरे ।

१३ औं मिनेटमा निशान लिम्बूले डिबक्समा पाएको अवसर सदुपयोग गर्न सकेनन् । खेलको ६८ औं मिनेटमा जागृति १० खेलाडीमा सीमित भयो ।

जागृतिका स्ट्राइकर मिलन राईले विपक्षी गोलरक्षक निगम सिंहलाई फाउल गरेपछि रेडकार्ड पाएर मैदानबाट बाहिरिए । १० खेलाडीमा सीमित भएको जागृति त्यसपछि दबाबमा परेको थियो ।

खेलको प्लेयर अफ द म्याच जागृतिका गोलरक्षक चौधरी भए । उनले नगद १० हजार रुपैयाँ पुरस्कार पाए ।

बुधबारको तेस्रो क्वाटरफाइनल खेल चर्च ब्वाइज युनाइटेट र गोर्खा ब्वाइज स्पोर्टस क्लब रुपन्देहीबीच हुने आयोजकले जनाएको छ ।

14
Shares
३ पुष २०८१, बुधबार ०७:०३