सप्तरी । सप्तरीको राजविराज विमानस्थलमा रात्रिकालीन उडान शुरू भएको छ । रात्रिकालीन उडान सेवाका लागि आवश्यक उपकरण जडान गरिएसँगै बुद्ध एअरले व्यवसायिकरुपमा रात्रिकालीन उडान शुरू गरेको हो ।

राजविराज विमानस्थलमा यसअघि बुद्ध एअरले दिउँसोको समयमा दैनिक एउटा उडान गरिरहेको थियो । नागरिक उड्डयन प्राधिकरणको सहयोगमा बुद्ध एअरले गएको शुक्रवार रात्रिकालीन उडानको परीक्षण गरेको थियो । परीक्षण उडान सफल भएसँगै बुद्ध एअरले काठमाण्डौ–राजविराजको रात्रिकालीन व्यवसायिक उडान शुरू गरेको हो ।

योसँगै रात्रिकालीन उडान हुने विमानस्थलको सङ्ख्या १० पुगेको छ । भद्रपुर, विराटनगर, राजविराज, सिमरा, जनकपुर, काठमाण्डौ, पोखरा, भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थल रात्रिकालीन उडान हुन्छ ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार विमानस्थलमा इन्ट्रयुमेन्ट फ्लाइट (आईएफआर) नियम अनुसार उडान शुरू भएपछि हिउँदको समयमा कम भिजिबिलिटीका कारण हुने उडान रद्द र ढिलाइको समस्याबाट यात्रुहरुले छुटकारा पाउनेछन् ।

आईएफआरमा दुई हजार मिटरमा उडान गर्न सकिने भएपछि मौसम खराब भएको समयमा पनि उडान गर्न सहज हुनेछ । यसअघि भीएफआर उडानका लागि कम्तीमा पाँच हजार भिजिविलिटी हुनुपथ्र्यो । यसले उडान ढिलो तथा रद्द हुने समस्या थियो ।
21
Shares
२ पुष २०८१, मंगलवार १०:०३