‘अहिले दाल, चामल, तेल लगायतका खाद्यान्नमा कुनै समस्या छैन । महँगो भयो भनेर चिन्ता लिनु पर्दैन । सबैजसो खाद्यान्नको मूल्य घटेको छ,’ अध्यक्ष श्रेष्ठले भने ।
श्रेष्ठका अनुसार बजारमा २६ सय प्रतिबोरा पर्ने चामल अहिले २४ सय रुपैयाँमा झरेको छ । यस्तै प्रतिबोरा २४ सय रुपैयाँ पर्ने चामल २१ सय हाराहारीमा आएको छ । सोना मन्सुली, जिरामसिनो, त्रिशूलीको पोखरेली चामल लगायत सबै प्रकारका चामलको प्रतिबोरा डेढ सयभन्दा बढी मूल्य घटेको छ ।अहिले २५ किलो परिमाण भएको जिरा मसिनो चामल १९५० रुपैयाँबाट सुरु हुन्छ । यसै गरी २५ किलो परिमाणको सोना मन्सुली चामल प्रतिबोरा १६ सय हाराहारीमा झरेको श्रेष्ठको भनाइ छ ।
चामलको मूल्य घट्नुमा दुईवटा कारण छन् । अध्यक्ष श्रेष्ठ भन्छन्, ‘पहिलो कारण अहिले धान पाकेर भित्र्याउने सिजन हो । नयाँ धान आउने समयमा हरेक साल मूल्य घट्छ । अर्को भारतीय खाद्यान्नमा मूल्य घटेको छ ।’श्रेष्ठका अनुसार चिनी, तेल र चामलको मूल्य पनि घटेको छ । पछिल्लो समय बजारमा चिनी प्रतिकिलो १०० रुपैयाँभन्दा कम मूल्यमा बिक्री भइरहेको छ । अहिले चिनीको मूल्य प्रतिकिलोमा ५ रुपैयाँले घटेको हो ।
भारतमा चिनीको मूल्य घटेसँगै नेपालमा पनि यसको प्रभाव परेको श्रेष्ठको भनाइ छ । उनी भन्छन्, ‘नेपालको तुलनामा भारतमा निकै सस्तो मूल्यमा चिनी पाइन्छ । तर यता आयात गर्दा भन्सार महँगो भएकाले अझै पनि चिनी महँगो नै हो ।’
यस्तै दाल तथा गेडागुडीको मूल्यमा पनि सुधार भएको छ । पछिल्लो समय बजारमा दाल तथा गेडागुडीको मूल्य करिब ७ प्रतिशतले घटेको छ । गत मङ्सिर ६ गते बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले दाल तथा गेडागुडी आयातमा लाग्दै आएको १० प्रतिशत अग्रिम कर घटाएर २.५ प्रतिशत कायम गरेको छ । सरकारले अग्रिम कर घटाएसँगै दाल तथा गेडागुडीको मूल्य ७.५ प्रतिशतले मूल्य घटेको हो ।
चालु आर्थिक वर्ष (२०८१/८२) को बजेट वक्तव्यमार्फत सरकारले दाल तथा गेडागुडी आयातमा १० प्रतिशत अग्रिम कर लगाएको थियो । सरकारले आयातमा अग्रिम कर लगाएपछि दाल उद्योगीहरूले मूल्य वृद्धिको नकारात्मक प्रभाव पर्ने भन्दै विरोध जनाएका थिए । तर सरकारले उक्त विरोधको कुनै चासो लिएन । त्यति बेला बजारमा दाल तथा गेडागुडीको मूल्य १० प्रतिशतले बढ्नुपर्नेमा झन्डै दोब्बर मूल्य बढाइएको थियो । करिब ७ महिनासम्म दाल तथा गेडागुडी महँगो मूल्य तिरेर खरिद गर्नुपर्ने बाध्यता उपभोक्तालाई रह्यो । अहिले भने सरकारले अग्रिम कर घटाएसँगै मूल्य पनि घटेको छ ।