काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को  खेलमा चितवन राइनोज विजयी भएको छ । कीर्तिपुरस्थित टियूको क्रिकेट मैदानमा भएको खेलमा चितवनले जनकपुर बोल्ट्सलाई ३२ रनले पराजित गरेको हो । जनकपुर पराजित हुँदा विराटनगर किंग्स तथा पोखरा एभेन्जर्स प्रतियोगिताबाट बाहिरिएका छन् ।

जितसँगै चितवनले प्लेअफ प्रवेशको सम्भावना बलियो बनाएको छ । चितवनको जितपछि पोखरा र विराटनगर प्रतियोगिताबाट बाहिरिएका हुन् ।

एक खेल खेल्न बाँकी विराटनगर र पोखराले बाँकी रहेको १ खेल जिते पनि ६ अंक मात्र हुनेछ । उनीहरुको शीर्ष ४ मा पर्ने सम्भावना नरहेको हुँदा दुवै टोली बाहिरिएका हुन् ।

टस जितेर पहिलो ब्याटिङ थालेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८० रनको चुनौती जनकपुरसामु राख्यो । कुशल मल्लले ७२ रन, रवि बोपाराले ४४ रन, हसन इसाखिलले २८ रन सन्तोष कार्कीले १४ रन बनाए ।बलिङमा जनकपुका ललित राजवंशीले २ तथा हर्ष ठाकर, मोहम्मद मोहसिन र जिमी निशमले समान १ विकेट लिए ।

१ सय ८१ रनको बलियो लक्ष्य पछ्याएको जनकपुर १८ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४८ रनमै समेटियो । जिमी निशमले ६५ रन, आसिफ शेखले २३ रन, शुभल कसांकार १५ तथा मोहम्मद मोहसिन १३ रनले बनाए ।

बलिङमा चितवनका रिजन ढकाल, सोहेल तन्भिर र कुशल मल्लले समान २ तथा अमरसिंह राउटेलाले १ विकेट लिए । अंक तालिकामा जनकपुर ७ खेलमध्ये ५ मा जित २ मा हार्दै १० अंकका साथ शीर्ष स्थानमा छ ।

सुदूरपश्चिम ५ खेलमध्ये ४ मा जित १ मा हार्दै ८ अंक, चितवन ७ खेलमध्ये ४ मा जित ३ मा हार्दै ८ अंक, कर्णाली ६ खेलमध्ये ४ मा जित २ मा हार्दै ८ अंक, काठमाडौं ६ खेलमध्ये ३ मा जित ३ मा हार्दै ६ अंक, विराटनगर ६ खेलमध्ये २ मा जित ४ मा हार्दै ४ अंक, पोखरा ६ खेलमध्ये २ मा जित ४ मा हार्दै ४ अंक र लुम्बिनी ७ खेलमध्ये १ मा जित ६ मा हार्दै २ अंक बनाएका छन् ।

14
Shares
३० मंसिर २०८१, आईतवार ०८:१७