विराटनगर । विराटनगर महानगरपालिकाको आयोजनामा शुक्रबारदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।

विराटनगरस्थित शहीद रंगशालामा आयोजित विशेष समारोहमा महानगरस्तरीय प्रतियोगिताको महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गरे । विराटनगरस्थित पोखरिया माविको समन्वयमा भएको समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले विद्यालयस्तरदेखि नै खेलाडी उत्पादन गर्न राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

महानगरको सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेल, वडा नम्बर ३ का अध्यक्ष वासुबहादुर बस्नेत, १० का अर्जुन गिरीलगायतको उपस्थितिमा भएको कार्यक्रममा उपमेयर शिल्पा निराला कार्कीले विद्यालयदेखि नै खेलकुदमा अभिरुची बढाउन राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता महत्वपूर्ण भूमिका खेल्ने बताए ।

तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा ३३ सामुदायिकसहित ६२ विद्यालयको सहभागिता रहेको छ । भलिबल, कबड्डी, एथलेटिक्स र मार्सल आर्ट गरी ४ विधाका ६६ वटा खेलमा १ हजार ४१८ जना खेलाडीले प्रतिस्पर्धा गर्ने महानगरको शिक्षा महाशाखाका अधिकृत कृष्ण भट्टराईले जानकारी दिनुभयो । सो प्रतियोगितामा ११७ जना प्रशिक्षक र २१ जना खेल शिक्षकले प्रतियोगितामा सहभागी विद्यार्थीहरुलाई प्रशिक्षण दिनेछन् ।

7
Shares
२९ मंसिर २०८१, शनिबार ०८:३८