काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा बिहीबारको पहिलो खेलमा पोखरा एभेन्जर्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ । खेल कीर्तिपुरस्थित टियू मैदानमा बिहान ९ बजे सुरु हुनेछ ।
दुवै टोलीका लागि आजको खेल महत्वपूर्ण छ र प्लेअफ सम्भावना कायम राख्न जित्नैपर्ने आवश्यकता छ ।
चार खेल खेलिसक्कदा पोखरा र विराटनगरले समान १ खेल जित्दै २ अंक मात्र जोडेका छन् भने तीन खेलमा पराजित भएका छन् । पोखरा र विराटनगर अन्तिम दुई स्थानमा छन् । दुवैले लुम्बिनी लायन्सलाई मात्र पराजित गरेको थियो ।
पोखरा र विराटनगर दुवैमा मार्की तथा कप्तान चल्न सकेका छैनन् । पोखराका कप्तान कुशल भुर्तेल राष्ट्रिय टिमका ओपनर हुन् । पछिल्लो समय वान डाउनमा ब्याटिङ गरेका थिए । एनपीएलमा भने उनी ओपनिङ र वान डाउन दुवैमा फ्लप नै भए ।
उता विराटनगरका कप्तान सन्दीप लामिछानेले पनि चार मध्ये एक खेलमा मात्र विकेट लिएका छन् । तीन खेलमा उनले विकेट लिएनन् ।
विराटनगरले बाँकी खेलका लागि नेदरल्याण्ड्सका कप्तान स्कट एडवार्डलाई भित्र्याएको छ । न्युजिल्याण्डका स्टार ब्याटर मार्टिल गप्टिलाई सुरु देखि खेलाएपनि खासै प्रभाव देखिन सकेको छैन ।
पोखरामा विदेशी खेदखि स्वदेशी अलराउण्डरहरु धेरै छन् । तर आन्द्रेस गौसको एक शतक बाहेक विदेशी खेलाडीले सोचे अनुसार खेल्न सकेका छैनन् । एसोसिएटकै उत्कृष्ट अलराउण्डर बास डे लिडले एक खेल खेलेपछि चोटका कारण खेलेका छैनन् ।
अब लिगमा तीन खेल मात्र खेल्न बाँकी रहेकोले जित निकाल्दै अंक तालिकामा सूधार गर्ने लक्ष्यमा छन् । पोखरा सातौं र विराटनगर आठौं स्थानमा छ । यस खेलमा जित हात पार्ने टिमको ४ अंक हुनेछ र बाँकी दुई खेल पनि जितेमा बढीमा ८ अंक पुग्नेछ । यस खेलमा पराजित हुने र बाँकी दुई खेलमा विजयी भएमा प्लेअफको झिनो सम्भावना बाँकी हुनेछ तर अन्य टोलीको नतिजामा पनि भर पर्नुपर्नेछ ।
लिगमा अहिलेसम्म जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोएल्सले समान ८ अंक जोडिसके । दुवै टोली प्लेअफ नजिक छन् । बाँकी दुई मध्ये एक खेल जितेपनि उनीहरुको प्लेअफमा स्थान पक्का हुनेछ । यस्तै चितवन राइनोज र कर्णाली याक्सको ५ खेलबाट समान ६ अंक छ । यी दुई टोली पनि प्लेअफको लागि दाबेदार छन् । चार खेलमा २ जितबाट ४ अंक जोडेको काठमाडौंको पनि प्लेअफ सम्भावना कायम छ । ६ खेल खेल्दा १ खेल मात्र जित्न सफल लुम्बिनी पाँचौ हारपछि लिग चरणबाटै बाहिरिने पक्का भएको छ ।
पोखरा एभेन्जर्स सम्भावित ११ : आन्द्रेस गौस, दिनेश खरेल, कुशल भुर्तेल, रेमोन रेइफर, दिलिप नाथ, म्याट क्रिटले, माइकल लिस्क, नारायण जोशी, विपिन खत्री, सागर ढकाल, आकाश चन्द
विराटनगर किंग्स सम्भावित ११ : मार्टिन गप्टिल, लोकेश बम, निकोलस किर्टोन, नरेन भट्ट, स्कट एडवार्ड्स, बसिर अहमद, दिपक बोहरा, क्रिस सोल, प्रतिश जिसी, सन्दिप लामिछे, अनिल खरेल