अर्थतन्त्रमा पछिल्लो समय सुधार हुँदै गएको उल्लेख गर्दै उनले लामो समय लागेर थलिएको अर्थतन्त्र रातारात परिवर्तन गर्न नसकिने बताए।
उनले भने, ‘हाम्रा समस्या समाधान हुँदै गएका छन् र सुधारका काममा सफल हुँदै पनि गएका छौँ। लामो समय लागेर थलिएको अर्थतन्त्र रातारात परिवर्तन गर्न सकिँदैन। यसका लागि केही समय लाग्छ, जुन हामीले निरन्तर प्रयास गरिरहेका छौँ। हाम्रो अर्थतन्त्रका केही पक्षहरु राम्रा छन्। विदेशी मुद्राको सञ्चिति राम्रो छ। ब्यालेन्स अफ पेमेन्टको अवस्था राम्रो छ। तरलताको अवस्था राम्रो छ। बैंकको ब्याजदर एकल अंकमा आएको छ। मूल्यवृद्धि नियन्त्रणमा छ। शेयर बजार लगायत अर्थतन्त्रका केही पक्षहरुमा सकारात्मक अवस्था छ।’उनले राजश्वको लक्ष्य पूरा गर्न सरकारले राजस्व चुहावट, अनियमितता, अपराधजस्ता गतिविधि नियन्त्रणमा निरन्तर काम गरिरहेको बताए।
उनले भने, ‘राजश्व परिचालनका सन्दर्भमा पनि चालु आर्थिक वर्षको चार महिनामा राम्रो छ । राजश्वको लक्ष्य पूरा गर्न ३०/३१ प्रतिशतको वृद्धि गर्नुपर्छ । तर गत वर्ष १० प्रतिशत वृद्धि भएकोमा यो वर्ष ३० प्रतिशत राखेको यथार्थ बिर्सनुहुन्न। तथापि, हामी यो लक्ष्य प्राप्तिका लागि निरन्तर प्रयास गरिरहेका छौँ। राजश्व चुहावट, अनियमितता, अपराधजस्ता गतिविधि नियन्त्रणमा हामी निरन्तर काम गरिरहेका छौं।’शेयर बजारमा हुने सर्कुलर ट्रेडिङ, कर्नरिङ र म्यानुपुलेसन नियन्त्रणमा निरन्तर काम भइरहेको दाबी उनकाे दाबी छ। उनले लगानीको वातावरण बनाउने कुरामा कानूनहरू अन्तरविरोधी रहेको भन्दै आवश्यक कानून संशोधन गरी लगानीको वातावरण बनाउने बताए।
उनले भने, ‘लगानीको वातावरण बनाउने कुरामा कानूनहरु अन्तरविरोधी छन्। एउटा कानूनलाई लिएर काम गर्दा अर्काे कानूनले अवरोध सिर्जना गर्दैैछ। लगानीको वातावरण बनाउने विषयमा विगतमा पनि प्रयास भएका छन्। तर सरकारले चाहेको जस्तो लगानी आउन सकेको छैन। यस विषयमा सरकारको ध्यान जान जरुरी छ।’