विराटनगर । मोरङको रंगेली नगरपालिका–८ दर्वेसाको एउटा घरबाट ठूलो मात्रामा नेपाली रूपैयाँ बरामद भएको छ ।

ज्योतिदेवी अग्रवालको घरमा लुकाइ राखेको ४७ लाख ४९ हजार रूपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी रंगेलीबाट खटिएको इन्स्पेक्टर सन्तोषकुमार खड्का नेतृत्वको टोलीले दिउँसो ३ बजेतिर छापा हानेको थियो ।

घरको कोठाबाट स्रोत नखुलेको रकम बरामद भएको मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले बताए । उनका अनुसार १ तले घरको दक्षिण–पश्चिमतर्फको कोठामा चाबी लगाएर राखिएको अवस्थामा टिनको बाकसभित्र रकम फेला परेको हो ।

प्रहरीले १ हजार र ५ सय दरका नोट बरामद गरेर घरधनी अग्रवाललाई पनि नियन्त्रणमा लिएको छ ।

स्रोत नखुलेको रकम अवैध हुण्डी कारोबारको भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
21
Shares
२६ मंसिर २०८१, बुधबार ०४:३९