झापा । झापामा जंगली हात्तीले दुःख दिन थालेपछि स्थानीयले मिलेर रात्रिकालीन गस्ती गर्न थालेका छन् । जंगलबाट हुलमै हात्ती पस्न थालेपछि शनिबारदेखि शिवसताक्षी नगरपालिकाको वडा नं ८ ले गस्ती जाने टोली नै गठन गरेर रात्रिकालीन गस्ती थालेको हो ।

वडाध्यक्ष सन्तकुमार फेउदेनका अनुसार, हात्ती गाउँ बस्ने मुख्य गौडामा बसेर कम्तिमा २५ जना सम्मेलित टोलीले हात्ती आउँदै गरेको देखिए गाउँलेलाई सूचना दिन्छ ।

‘हाते माइक, सिटी र आकस्मिकका रुपमा प्रयोग गरिने साइरन बजाएर गाउँलेलाई हात्ती गाउँ पसेको सूचना दिने जिम्मेवारी गस्ती टोलीको हो’, उनले भने ।

झापामा हात्तीको आक्रमणबाट वर्षेनि मानिसहरुको मृत्यु हुने गर्छ । बेलडाँगी लगायतका क्षेत्रमा हात्ती आक्रमणबाट बच्न विद्युतीय तारबारको पनि व्यवस्था गरिएको छ । यद्यपि, समस्या समाधान भएको छैन ।

शिवसताक्षीको वडा नम्बर ८ को झिलझिले, थेचम्बु, बुद्धचोक, डुँडामारी र फुलबारी चोकको गौडामार्फत् पनि दिनहुँ जङ्गली हात्ती गाउँ पस्ने गरेका छन् ।

स्थानीयका अनुसार कुनै दिन एउटा मात्र वयस्क हात्ती गाउँ पस्छ भने कुनै दिन हुल नै बाँधिएर आउँदा बाली खराप हुने गरेको छ, घर लगायतका संरचना भत्किने गरेको छ । कतिपय स्थानीयले हात्ती पसेको थाहा पाएपछि बालबालिका चेपेर घर छाड्ने गरेका छन् ।

28
Shares
२५ मंसिर २०८१, मंगलवार ०७:३८