सुनसरी- आफूविरुद्ध समाचार लेखेको भन्दै पत्रकारलाई धम्क्याएका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले प्रहरी तथा अदालतविरुद्ध पनि अभिव्यक्ति दिएका छन्।
बिहीबार धरानमा आफैंले आयोजना गरेको पत्रकार सम्मेलनमा उनी प्रहरी तथा अदालतविरुद्ध पनि खनिएका हुन्। आफूले बेथिति अन्त्य गर्न खोज्दा प्रहरी र अदालतको साथ नपाएको उनले बताए।
धरानमा श्रममा सुधार भएको उनले दाबी गरेका छन्। शिक्षा र स्वास्थ्यमासमेत सुधार भएको उनको दाबी छ।
उनले भने, ‘प्रहरी र अदालतले साथ दिएको छैन। अदालत र प्रहरीले साथ दिने हो भने दलाल फटाहाहरूलाई एक दिनमा तह लगाउँछु।’
कानुनको ठेली बोक्नेहरू नै स्वतन्त्र मेयरको पक्षमा नभएको उनले आरोप लगाए। सुनसरीमा बिहीबार भेला भएका सञ्चारकर्मीले बारम्बार धम्कीपूर्ण अभिव्यक्ति नदिन साम्पाङलाई चेतावनी दिएका छन् ।
धरानका पत्रकार गोपाल दाहालले खोज पत्रकारिता केन्द्रका लागि ‘मेयर साम्पाङको मनमौजी शासन, बेथितिको दलदलमा धरान’ शीर्षकमा समाचार लेखेका थिए । उक्त समाचार प्रकाशन भएपछि साम्पाङले बुधबार सामाजिक सञ्जालमा दाहाल र पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईको नामै तोकेर धम्की दिएका थिए ।
उनले सामाजिक सञ्जाल फेसबुकमा ‘खोज पत्रकारिता केन्द्रका गोपाल दाहाल या कोही प्रतिनिधि भोलि १० बजे धरान १८ को ग्रिन टीमा हाजिर हुनू । अन्यथा तेरो खोज पत्रकारिताको अन्त्य गरिनछु भने मेरो नाम हर्क साम्पाङ होइन’ भन्दै धम्कीपूर्ण स्टाटस लेखेका थिए ।सुनसरीमा कार्यरत धेरै संघसंस्थाले पनि पत्रकारप्रति पटकपटकको धम्कीले लोकतन्त्रको उपहास भएको उल्लेख गरेका छन् ।