विराटनगर । उपनिर्वाचन अन्तर्गत कोशी प्रदेशको ८ पदमा भएको मतपरिणाम आइसकेको छ । ८ पदमध्ये १ पदमा अध्यक्ष र ७ वडाध्यक्षमा प्रतिस्पर्धा भएको थियो । जसमध्ये १ अध्यक्ष र २ वडाध्यक्ष पदमा जित निकाल्दै माओवादी पहिलो भएको छ । यस्तै नेपाली काँग्रेस र नेकपा एमालेले दुई–दुई वडाध्यक्षमा र एक जना स्वतन्त्रले वडाध्यक्षमा विजयी भएका छन् ।

२०७९ सालको निर्वाचनमा भने ती ८ पदमै माओवादी पराजित भएको थियो । अघिल्लो निर्वाचनमा काँग्रेसले पालिका अध्यक्षसहित जितेको ५ वडाध्यक्ष जितेको थियो भने एमालेले २ स्थानमा जितेको थियो ।

लोकप्रिय मतमा पनि माओवादी पहिलो देखिएको छ । मतपरिणाम अनुसार काँग्रेसले लालिगुराँस ८ बाहेक यसअघि जितेका सबै स्थान गुमाएको छ । उसले यसअघि एमालेले जितेको सुनसरीको गढी ६ मा भने जित निकालेको छ ।

यस्तै यसअघि जितेको कन्काई ६ र गढी ६ मा पराजित भएको एमालेले यसअघि काँग्रेसले जितेको ताप्लेजुङको सिरिजङ्गा–३ र ओखलढुङ्गाको मोलुङ–५ मा भने जित दर्ता गरेको छ । एमालेले अघिल्लो पटक जितेको कन्काई ६ मा भने स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

उपनिर्वाचनमा माओवादीले ग्रामथान गाउँपालिकाको अध्यक्षसहित उदपुरको त्रियुगा १२ र बेलका ९ जितेको छ । माओवादीले जितेका तीनै स्थान अघिल्लो निर्वाचनमा काँग्रेसले जितेको थियो । कोशीमा ८ स्थानमा भएको मतदानमा जम्मा २९ हजार ४५४ मत खसेको थियो । सो मतमा पनि माओवादी केन्द्र पहिलो भएको छ ।

मत परिणाम अनुसार माओवादीले ९ हजार ८२२ मत प्राप्त गर्दा काँग्रेसले ८ हजार ६४ र एमालेले ७ हजार ५३० मत पाएको छ । माओवादीले काङ्ग्रेसभन्दा १ हजार ७५८ मत र एमालेभन्दा २ हजार २९२ मत बढी पाएको छ । निर्वाचन आयोगको तथ्याङ्क अनुसार राप्रपाले ७२६ र रास्वपाले ९२९ मत ल्याएको छ ।

अघिल्लो स्थानीय तहको निर्वाचनमा ती स्थानमा माओवादीले जम्मा ४ हजार ५५ मत पाउँदा काँग्रेसले १० हजार ६५१ मत ल्याएको थियो । यस्तै एमालेले ९ हजार ४५१ र राप्रपाले ५०३ मत पाएको थियो । उक्त तथ्याङ्क हेर्दा काँग्रेसको मत २ हजार ५८७ मत र एमालेको १ हजार ९२१ मत घटेको छ ।

राप्रपाले २२३ मत बढाएको छ । रास्वपा भने पहिलो पटक प्रतिस्पर्धामा उत्रिएको थियो । उसले उपनिर्वाचनमा ८ पदमा प्रतिस्पर्धा गरेको थियो । जसमा ९२९ मत ल्याएको छ ।

उपनिर्वाचन भएका ग्रामथान, गढी, त्रियुगा, बेलका, सिरिजङ्गा र लालिगुराँसमा माओवादीको मत बढ्दा कन्काई र मोलुङमा मात्र थोरै घटेको छ । ग्रामथान, त्रियुगा, बेलका, मोलुङ, सिरिजङ्गा र लालिगुराँमा काँग्रेको मत घट्दा कन्काई र गढीमा बढेको छ । यस्तै एमालेको ग्रामथान, कन्काई, सिरिजंगा र लालिगुराँमा मत घट्दा गढी, बेलका, त्रियुगा र मोलुङमा बढेको छ ।

माओवादी कोशी प्रदेशका अध्यक्ष हर्कबहादुर नेम्वाङ धेरैको लागि अहिलेको उपनिर्वाचनको परिणम अनपेक्षित लागेपनि आफूहरुलाई अपेक्षित नै लागेको बताए । ‘मैले एक महिना अगाडि नै यो रिपोर्ट केन्द्रीय कार्यालयलाई दिएको थिएँ,’ नेम्वाङले भने, ‘१ पालिका अध्यक्ष र ३ वडा जित्ने भनेका थियौं । तर २ वटा वडामात्रै जितेका छौं ।’

आफ्नो पार्टीले विभिन्न मत सर्भेक्षण गरेर एक महिना अगाडि नै यो अपेक्षा गरेको उनको दाबी छ । उनले आगामी ८४ सालको निर्वाचनमा ६४ सालकै हैसियतमा पार्टीलाई पुर्याउन आवश्यक तयारी सुरु गरिसकेको पनि बताए । ‘हामी काममा लागिसकेका छौं । ८४ को चुनावमा हामी ६४ मा जस्तै जित निकाल्छौं,’ उनले भने ।

योजनाबद्ध र संगठित रुपमा पार्टीको सिंगो पंक्ति परिचालन गरेको कारण नतिजा दिन सफल भएको माओवादी केन्द्रका उपमहासचिव तथा कोशी प्रदेश इन्चार्ज हरिबोल गजुरेल बताउँछन् । गजुरेल कोशीको इन्चार्ज भएर आएपछि पार्टीका केन्द्रीय सदस्यसम्मका नेतालाई वडाको जिम्मा दिएर खटाएका थिए ।

पछिल्लो चरणमा निर्वाचन हुने पालिका र वडामा पार्टीको टिम केन्द्रीत गरेर एक महिनाअगाडिदेखि परिचालन गर्दा नतिजा निस्किएको उनले बताए । ‘अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले गरेको सुशासनको पक्षको कामबारे जनताको बीचमा सही सूचना पुर्याउन सक्यौं । जसले गर्दा माओवादी विरुद्धको भ्रम चिरियो र २०६४ कै अवस्थामा हामी पुग्यौं,’ गजुरेलले भने ।

२०६४ मा तत्कालिन कोचिला प्रदेशका इन्चार्ज उनै गजुरेल थिए । त्यसबेला झापा, मोरङ र सुनसरीलाई माओवादीले कोचिला प्रदेश भन्ने गरेको थियो । तीन जिल्लामा संविधानसभाको २२ सिटमध्ये माओवादीले गजुरेलकै नेतृत्वमा १० सिट जितेको थियो । सो निर्वाचनमा एमाले नेता केपी शर्मा ओली, तत्कालिन गृहमन्त्री रहेका काँग्रेस नेता कृष्णप्रसाद सिटौला, काँग्रेस नेता विश्वप्रकाश शर्मा, एमाले नेता गुरु बरालसहितका नेताहरु माओवादी उम्मेद्वारसँग पराजित बनेका थिए ।

उपनिर्वाचनमा कुन स्थानको नतिजा कस्तो ?

ग्रामथान गाउँपालिका अध्यक्ष
२०७९ को निर्वाचनमा मोरङको ग्रामथानमा तेस्रो स्थानमा रहेको माओवादीले अहिले फराकिलो अन्तरसहित जित निकालेको छ । गत निर्वाचनमा माओवादी केन्द्रका विजयकुमार सरदारले जम्मा २ हजार ७२७ मत पाएकोमा अहिले ४२२४ मत थप गरेर ६ हजार ९६९ मत प्राप्त गर्दै नमोनारायण माझीले जित निकालेका हुन् ।

ग्रामथानमा काँग्रेसले २ हजार २७२ मत गुमाउँदा बलराम सरदाले ५३३३ मत पाएका छन् भने एमालेले १ हजार ९२४ मत गुमाएपछि तुलसीराम विश्वास ४ हजार १५९ मतमा सीमित भए । गत निर्वाचनमा काँग्रेसका जयप्रसाद गच्छदार ७६०६ मतसहित विजयी बन्दा एमालेका शिवनारायण माझीले ६०९३ मत पाएका थिए ।

कन्काई– ६, झापा
गत निर्वाचनमा ५०८ मत ल्याएर कन्काई ६ को वडाध्यक्षमा जितेको एमालेले जितेको भएपनि अहिले १५२ मत गुमाए तुलाराम बस्नेतले ३५६ मत मात्र प्राप्त गरे । गत निर्वाचनमा निकटतम् प्रतिद्वन्द्वी रहेका स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली ४९३ मतसहित विजयी भएका छन् । यसअघि उनले ४४० मत मात्रै पाएका थिए ।

सो वडामा गत निर्वाचनमा काँग्रेसका केशब बिमलीले २०९ मत मात्र पाएकोमा १०८ मत बढाएर रामगोपाल ओली ३१७ मत प्राप्त गरेका छन् । माओवादी केन्द्रले भने सो वडामा १७ मत गुमाएको छ । अघिल्लो निर्वाचनमा माओवादीका रेवतबहादुर रेग्मीले २९४ मत पाएको वडामा अहिले गणेशबहादुर थापाले २७७ मत मात्रै पाए ।

गढी– ६, सुनसरी
अघिल्लो निर्वाचनमा सुनसरीको गढी गाउँपालिकामा ७१२ मतसहित एमालेका सदानन्द उराउ विजयी भएकोमा अहिले एमाले तेस्रो भएको छ । सो वडामा सबै दलले मत बढाउँदा यसअघि तेस्रो भएको काँग्रेसका तेत्तर साहुले सबैभन्दा धेरै ४०० मत बढाएर जित निकालेका छन् । गत निर्वाचनमा काँग्रेसका तिलेश्वर चौधरीले ४१६ मत पाएकोमा काँग्रेसले यस पटक ८१६ मत पाएको छ । गत निर्वाचनमा पाएको मतभन्दा एमालेका शन्तु उरावले पनि ५८ थपेर ७७० मत प्राप्त गरे । गत निर्वाचनमा ४२४ मत पाएका माओवादीका कुशेश्वर खेरवारले ३७० मत थपेर ७९४ मत पाएका छन् ।

त्रियुगा– १२, उदयपुर
उदयपुरको त्रियुगा १२ मा पनि माओवादीले चमत्कारिक जित निकालेको छ । गत निर्वाचनमा फराकिलो अन्तरसहित तेस्रो स्थानमा रहेको माओवादीका नविनकुमार वान्तवाले ५१९ मत बढाएर साविक विजेता काँग्रेसका उम्मेदवारलाई तेस्रो स्थानमा धकेल्दै जित निकालेका हुन् । अघिल्लो निर्वाचनमा माओवादीले ४०४ मत प्राप्त गरेकोमा अहिले ९२३ मत पाएको छ । अघिल्लो निर्वाचनमा काँग्रेसका चुडाराज काफ्लेले ४२९ मत पाएर विजयी भएकामा अहिले काँग्रेसका सञ्जीव काफ्लेले ८० मत कम अर्थात् ३५९ मत प्राप्त गरे । अघिल्लो पटक एमालेका रमेश राउत क्षेत्रीले ४०८ मत पाएकोमा अहिले लक्ष्मीनारायण चौधरीले २०० मत थपेर ६०८ मतसहित दोस्रो स्थान प्राप्त गरेका छन् ।

मोलुङ– ५, ओखलढुङ्गा
ओखलढुङ्गाको मोलुङमा ५ मा अघिल्लो निर्वाचनमा काँग्रेसका गोपिकृण कार्की ३८४ मतसहित विजयी भएकोमा यसपटक काँग्रेसका घनश्याम दाहाल १७७ मात्र प्राप्त गर्दा पराजित भए । अघिल्लो निर्वाचनमा एमालेका गोपाल नेपालले ३७० मत पाएकोमा यो निर्वाचनमा २९ मत थपेर एमालेका उम्मेदवार गंगाबहादुर तामाङले ३९९ मतसहित जित निकाले । सो वडामा माओवादीका मानबहादुर सुनुवारले अघिल्लो निर्वाचनमा ३० मत पाएकोमा अहिले उनैले ७ गुमाएर २३ मात्र पाएका छन् ।

सिरिजंगा–३, ताप्लेजुङ
ताप्लेजुङको सिरिजंगा ३ मा गत निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार टिकाप्रसाद बोखिम ४०३ मतसहित विजयी भएका थिए । यसपटक काँग्रेसले १८५ मत गुमाउँदा भिमकुमार लक्सम्बा २१८ मतसहित तेस्रो स्थानमा खुम्चिए । एमालेकी कुमारी साउदेनले अघिल्लो निर्वाचनमा ३९९ मत पाएकोमा ४६ मत घटेर ३५३ पाए पनि विजयी भइन् । अघिल्लो निर्वाचनमा काँग्रेसलाई समर्थन गरेको माओवादीका अम्बी साउदेन २५१ मतसहित दोस्रो भए ।

लालिगुराँस–८, तेह्रथुम
अघिल्लो निर्वाचनमा काँग्रेसका तेजमान लिम्बूले ५२४ मतसहित जितेको तेह्रथुमको लालिगुराँस ८ मा ७४ मत घटेपनि काँग्रेसकै नगेन्द्र लिम्बू ४४० मतसहित निर्वाचित भएका छन् । सो वडामा अघिल्लो निर्वाचनमा एमालेका तुलसीराम खनालले ४१३ मत पाएकोमा यस पटक बुद्धबहादुर लिम्बूले ५३ कम अर्थात् ३६० मत पाए । अघिल्लो निर्वाचनमा काँग्रेसलाई समर्थन गरेको माओवादीका कुमार विश्वकर्माले भने २६ मत मात्र प्राप्त गरे ।

बेलका–९, उदयपुर
अघिल्लो निर्वाचनमा बेलका ९ मा काँग्रेसका पदमबहादुर खड्का ६७१ मतसहित विजयी हुँदा १७६ मतसहित चौथो भएको माओवादीले सानदार जीत निकालेको छ । माओवादीका भरत घिमिरेले ५५९ मतसहित जीत निकाल्दा काँग्रेसका नवराज बस्नेत ४०४ मतसहित तेस्रो भए । गत निर्वाचनमा एमालेका रणजीत राईले ५४८ मत पाएकोमा यस पटक मोहन खड्काले ५२५ मत प्राप्त गरे । बेलका ९ मा गत निर्वाचनको तुलनामा माओवादी केन्द्रले ३८३ मत बढाउँदा काँग्रेसले २६७ र एमालेले २३ मत गुमाएको छ ।

28
Shares
१९ मंसिर २०८१, बुधबार ०९:११