काठमाडौँ – मानव तस्करी आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीलाई काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा नचलाई उन्मुक्ति दिएकोमा माओवादी केन्द्रले आपत्ति जनाएको छ ।

माओवादी केन्द्रको बुधबार बसेको सचिवालयमा सरकारले मानव तस्करीको गम्भीर आरोप लागेका पूर्वमन्त्री अधिकारीलाई एमाले भएकै कारण उन्मुक्ति दिएको निष्कर्ष निकालेको छ । सरकारले निकटताका आधारमा पूर्वमन्त्री अधिकारीलाई उन्मुक्ति दिएर जोगाएको आरोप लगाएको छ ।

‘कोशी प्रदेशमा पूर्वमन्त्री (अधिकारी) लाई उन्मुक्ति दिएर सरकारले निकटलाई जोगाउने काम गर्‍यो,’ उपमहासचिव वर्षमान पुनले भने, ‘यो आपत्तिजनक छ। यो आफ्नालाई जोगाउने, विपक्षीलाई फसाउने नीति हो ।’

पूर्वमन्त्री अधिकारीसँग जापान पुगेर फर्काइएका ३ युवासहित ११ जनाविरुद्ध सोमबार मुद्दा दायर गरिएको छ  । प्रहरीले अधिकारीसहित बाह्रै जनाविरुद्ध किर्ते र मानव तस्करीमा मुद्दा चलाउन आइतबार प्रतिवेदन दिए पनि सरकारको दबाबमा उन्मुक्ति दिएको माओवादीको निष्कर्ष छ । ‘प्रहरीले दिएको प्रतिवेदनका आधारमा मुद्दा नचलाई अधिकारीलाई जोगाएर सरकारले आफ्नो नियत देखाएको छ,’ पुनले भने ।

अधिकारीसँगै तीन युवा रसुवाका कञ्चन देवकोटा तथा खोटाङका दावा शेर्पा र जनक राई फर्काइएका थिए । अधिकारीको साथ लगाएर जापान पठाइएका युवासँग गिरोहले जापानमा लुकाउने योजनासहित रकम असुलेको थियो ।
7
Shares
१३ मंसिर २०८१, बिहीबार ०५:१५