काठमाडौँ । करारमा कार्यरत अस्थायी पाइलटहरूसरह तलब सुविधाको माग गर्दै बिहीबारदेखि उडानमा नगई बिदा बसेर हडतालमा उत्रिएका नेपाल वायुसेवा निगमका २२ जना पाइलटले आन्दोलन फिर्ता लिएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा. गणेशप्रसाद पाण्डेका अनुसार मंगलबार सिंहदबारमा भएको वार्तापछि पाइलटहरूले उडानमा फर्किने निर्णय लिएका हुन् । ‘सेवासुविधाका बारेमा निगमका पाइलटहरूले उठाएका विषयलाई वैज्ञानिक आधारमा सम्बोधन गर्ने प्रतिबद्धता मन्त्रालयका तर्फबाट गरेपछि उनीहरू काममा फर्किने भएका हुन्,’ सचिव पाण्डेले भने ।

वार्तामा सहभागी एक अधिकारीका अनुसार पाइलटहरूले बुझाएका मागलाई वैज्ञानिक आधारमा सम्बोधन गर्ने मौखिक प्रतिबद्धतापछि पाइलटहरूले सेवामा फर्किने निर्णय लिएका हुन् । ‘पाइलटहरूसँग लिखित सहमति भएन । दुईपक्षीय छलफलपछि उहाँहरूले स्वास्थ्य जाँच गरेर उडानमा फर्किने बताउनु भएको छ,’ ती अधिकारीले भने ।

बिहीबारदेखि ८ जना पाइलटले सल्लाह गरेर बिरामी तथा भैपरी बिदा लिएपछि निगमले आइतबार काठमाडौं–दुबई तथा मुम्बई–काठमाडौं उडान रद्द गरेको थियो भने अरु आधा दर्जन उडान घन्टौं डिले हुँदा १ हजार हाराहारी यात्रु अलपत्र परेका थिए । मंगलबारको वार्तामा पर्यटन मन्त्रालयका सचिवले पाइलटहरूलाई अत्यावश्यक सेवामा हडताल निषेध भएको स्मरण गराउँदै ५० अर्ब ऋणमा डुबेको निगमका पाइलटहरूलाई उच्च पेसागत आचरण पालना गर्न निर्देशन दिएका थिए ।

14
Shares
१२ मंसिर २०८१, बुधबार ०९:२५