मुख्यमन्त्री कार्कीले प्रदेशमा कृषि उत्पादनमा वृद्धिका लागि कृषकले सिँचाइमा प्रयोग गर्ने विद्युत् र मलखादमा आवश्यक अनुदान दिने जानकारी दिए । उनले मुलुकमा रहेका उद्योगलाई आवश्यक पर्ने कृषि कच्चापदार्थ उत्पादन गर्न किसानलाई आग्रह गर्दै यसबाट आयात प्रतिस्थापन भई विदेशी मुद्रा बचत हुने उल्लेख गरे ।
तराईमा छिटो उत्पादन भई प्रतिफल दिने उखु, धान, सनपाट र मकैको उत्पादन प्रवद्र्धनका लागि आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रम ल्याउनुका साथै बजेटको व्यवस्था गर्ने मुख्यमन्त्री कार्कीले जानकारी दिए ।
मोरङका प्रम्ख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले कृषकलाई सिँचाइ, प्राविधिक ज्ञान, कृषि उत्पादनको उचित मूल्य निर्धारणमा गर्नुपर्ने सुझाव दिए । प्रदेश योजना आयोगका सदस्य सीताराम बस्नेतले उखु नगदे बाली भए पनि किसानले समयमा भुक्तानी नपाएर समस्या हुने गरेको बताए ।
‘दी नेपाल डिस्ट्रिलरिज प्रालि’ काठमाडौँका प्रमुख अधिकृत जनकराज रेग्मी र पूर्वसचिव डा योगेन्द्रकुमार कार्कीले स्वदेशी पुँजी विदेश जान नियन्त्रण गर्न, वैज्ञानिक खेती, उखु उत्पादनलाई आधुनिकीकरण गर्न, प्रविधिको प्रयोग, ज्ञान, मल, सिँचाइलगायत विषयमा किसानलई अभिमुखीकरण गर्नु कार्यक्रमको उद्देश्य रहेको बताए ।एकदिने अभिमुखीकरण कार्यक्रममा नेपाल कृषि अनुसन्धान परिषद्का वैज्ञानिक जगत्बन्धु अर्यालयले खुट्टी बालीको महत्व तथा उन्नत व्यवस्थापन र मलखाद, डा दिलराज यादवले उखुका उत्कृष्ट जातहरु तथा उन्नत उत्पादन प्रविधि, उखु बालीको प्रमुख रोग र कीराहरु तथा तिनको व्यवस्थापन र पूर्वसचिव डा कार्कीले नेपालमा उखु खेतीको महत्व र सम्भावना विषयमा किसानलाई अभिमुखीकरण गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा मोरङ, झापा र सुनसरीका गरी ४० किसानको सहभागिता रहेको छ ।