विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अनावश्यक खर्च कटौती गरेर पुँजीगत खर्च बढाउनुपर्नेमा जोड दिएका छन्।

आइतबार विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगद्वारा आयोजित छलफलमा मुख्यमन्त्री कार्कीले अनावश्यक खर्च कटौती गर्नुपर्ने बताएका हुन्।

एकै प्रकृतिका संस्थाहरु केन्द्रदेखि स्थानीय पालिकासम्म निर्माण हुन थालेको भन्दै मुख्यमन्त्री कार्कीले यसप्रकारको अनावश्यक कार्यलाई निरुत्साहित गर्नुपर्ने बताए।

राष्ट्रिय पुँजीको विकास गर्ने विषयलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका मुख्यमन्त्री कार्कीले त्यसका लागि पर्यटन, सूचना प्रविधि, कृषि र निर्माण क्षेत्रमा ध्यान दिनुपर्ने उल्लेख गरे।

जवाफदेही र उत्तरदायित्वको अभावले पनि सुधार गर्न नसकिएको बताउँदै मुख्यमन्त्री कार्कीले एकैदिनमा गर्न सकिने काम पनि लामो समयसम्म रहने प्रवृत्तिको अन्त्य गर्नु जरुरी रहेकोमा जोड दिए।

प्रशासनिक सुधार र राजश्व उठाउने विषयमा जवाफदेहिता एवं सहकार्यको मोडलबाट काम गर्न सकिएमा नतिजा आउनसक्ने मुख्यमन्त्री कार्कीको भनाइ छ

त्यसैगरी, छलफलमा कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राम रानाले ठूलो पुँजीसँगै साना पुँजीलाई पनि प्रोत्साहन गरेर अगाडि बढ्नुपर्ने बताए। निर्यातमूलक उद्योगलाई प्रोत्साहन गर्दै तत्काल लोकप्रिय हुने कार्यक्रम भन्दा दीर्घकालीन कार्यक्रमहरु अगाडि सार्नुपर्ने मन्त्री रानाको भनाइ छ।

छलफलमा सहभागी भएकाहरुले ऐन नियमहरुलाई सहज र सरल बनाइनुपर्ने, नियमनकारी निकायहरुको भूमिका प्रभावकारी बनाइनुपर्ने, संघीय संरचनाअनुसारको अधिकारलाई प्रत्यायोजन गरेर काम गर्नुपर्नेलगायतको सुझाव दिएका थिए।

28
Shares
९ मंसिर २०८१, आईतवार १५:५६