संचार क्षेत्रमा नेपालको अग्रणी संस्थाको रुपमा रहेको नेपाल टेलिकम र रोयल्सबीच एक कार्यक्रममाझ सम्झौता भएको हो।
सम्झौता पत्रमा रोयल्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रकाश खड्का र नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीले हस्ताक्षार गरेका छन्।सम्झौतापछि सिइओ खड्काले टेलिकमको साथप्रति आभार व्यक्त गर्दै क्रिकेट विकासमा रोयल्सले महत्त्वपूर्ण भूमिका खेल्ने अभिव्यक्ति दिएका थिए।
खड्काले नेपाल टेलिकम यसअघि पनि नेपाली क्रिकेटलाई सहयोग गर्दै आएको र यसपटक रोयल्सलाई सहयोग गरेकोमा मैदानभित्र उत्कृष्ट प्रदर्शन गरेर टेलिकमलाई गौरव महसुस गराउन तत्पर रहेको बताए।प्रबन्ध निर्देशक पहाडीले नेपालको खेलकुद क्षेत्रको वृहत्तर विकासका लागि नेपाल टेलिकमले सदैव योगदान दिँदै आएको एवं नेपाली क्रिकेटसँग पनि लामो समयदेखि जोडिइरहेको स्मरण गर्दै सुदूरपश्चिमाञ्चल रोयल्स मार्फत एनपिएलमा जोडिन पाउँदा खुसी लागेको बताएकी थिइन्।
एनपिएलमार्फत नेपाली क्रिकेटले नयाँ उचाई प्राप्त गर्ने र यो प्रतियोगिता नेपाली खेलकुद विकास क्रमकै महत्त्वपूर्ण कोशेढुङ्गाको रुपमा स्थापित हुने विश्वास ब्यक्त गर्दै उनले सुदूरपश्चिमाञ्चल रोयल्सको विशेष भूमिका रहने र सहयोगले टोलीको प्रदर्शन उच्च हुने विश्वास ब्यक्त गरेकी थिइन्।
सुदूरपश्चिम रोयल्सले यसअघि एसपीएलाई एजुकेसन पार्टनर र कुमारी जबलाई करिअर पार्टनरको रुपमा भित्र्याएको थियो। एनपिएलको अवधिभर टोलीले म्यारीयट काठमाडौँमा बसोबास गर्न सहकार्य सम्झौता पनि गरिसकेको छ।
नेपाल क्रिकेट संघ क्यानको आयोजनामा ८ टोलीको सहभागिता रहने नेपाल प्रिमयर लिग प्रतियोगिता आगामी १५ मंसिरदेखि ६ पुससम्म सञ्चालन हुँदैछ।
सुदूरपश्चिमको मार्की खेलाडीमा कीर्तिमानी अलराउन्डर दीपेन्द्रसिंह ऐरी रहँदा मेन्टरमा अष्ट्रेलियाका ब्राड हज तथा मुख्य प्रशिक्षक राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक जगत टमाटा रहेका छन्।
यस्तो छ सुदुरपश्चिमको टोली:
दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, अभिनास बोहोरा, विनोद भण्डारी , अर्जुन कुमाल, खडक बोहोरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद , अमित श्रेष्ठ, ब्रान्डन मक्मलेन (स्कटल्यान्ड), सेफ अलि जेब (इंग्ल्यान्ड), स्कट कुगेलेइन (न्युजिल्याण्ड), रोहन मुस्तफा (यूएई)