काठमाडौं । आगामी उपनिर्वाचनका लागि मनोनयनपत्र दर्ता गराएका र अन्तिम नामावलीभित्र अटाएका उम्मेदवारले आज (बुधबार) निर्वाचन चिन्ह पाउने भएका छन् ।
दलका उम्मेदवारलाई त्यही दलको र स्वतन्त्रलाई विभिन्न चुनाव चिन्ह प्रदान गरिने छ । त्यसपछि आफ्नो चुनाव चिन्हसहित उम्मेदवारले चुनावी अभियानलाई झन् तीव्र पार्ने छन् ।
उम्मेदवारहरु यसअघिदेखि नै घरदैलो र मतदाता भेटघाटमा व्यस्त छन् । इच्छुक उम्मेदवारलाई बुधबार बिहान ९ देखि दिउँसो १ बजेसम्म नाम फिर्ता लिन समय दिइएको छ ।दिउँसो १ देखि ३ बजेसम्ममा अन्तिम नामावली प्रकाशन गरिनेछ । नामावली प्रकाशनसँगै दिउँसो ३ देखि साँझ ५ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ ।
निर्वाचन कार्यक्रम अनुसार उम्मेदवारको मनोनयन दर्ता आइतबार नै भएको थियो । सोमबार र मंगलबार उजुरी दिने तथा जाँचबुझ गरेर उम्मेदवारको नामावली प्रकाशन गर्ने गरियो ।