विराटनगर । कोशी प्रदेशको नाम खारेजीको माग गर्दै आएको पहिचानवादी पक्षधरले दोस्रो चरणको आन्दोलनको घोषणा गरेका छन्। विराटनगरमा सोमबार प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिद्वारा आयोजित सम्मेलनमा किरात याक्थुम चुम्लुङका अध्यक्ष पे्रम येक्तेनले औपचारिक हिसाबले दोस्रो चरणको आन्दोलन सुरु गर्ने बताए।

पत्रकार सम्मेलनमा उनले चैत १० गतेसम्म कोशी प्रदेशको नाम खारेजी र पुनः नामांकनको प्रक्रिया सुरु नगरे थप संघर्ष चर्काउने बताए। पत्रकार सम्मेलनमा उनले प्रदेशका विभिन्न स्थानमा लेखिएको प्रदेशको नाम ‘कोशी’ मेटाउन र हटाउन पनि आग्रह गरे। प्रदेशमा नाम खारेजीको सन्दर्भमा उनले प्रदेशमा रहेका सांसदहरुले संसदमै नामकरण हटाउनका लागि प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिए।

उनले भने, ‘प्रदेश सभामा रहेएका सांसदहरुले प्रक्रिया अघि बढाएर राजनीतिक कोर्स सच्याउन सकिनेछ। तर, फेरि पनि उहाँ नमान्ने छल गर्नेतर्फ जानु हुँदा त्यसपछि हामी आन्दोलनको प्रक्रियामा अघि बढ्छौं।’ प्रदेश सरकारसँग यसअघि गरिएको तीन वटा वार्ता भएको जनाउँदै समितिले वार्ताको क्रममा भएका निर्णयप्रति सरकार गम्भीर नरहेको जनाउँदै वार्ता स्वत भंग भएको जनाएको छ।

पत्रकार सम्मेलनमा कोशी नामको लेटर प्याड, छाप नचलाउन कार्यालय प्रमुख कर्मचारीलाई अनुरोध गर्ने र नमानेमा स्पष्टीकरणको कारबाही अघि बढाउने जानकारी दिइएको छ। आन्दोलनका क्रममा प्रदेशसभा, मुख्यमन्त्री कार्यालय घेराउसहित अनिश्चितकालीन हड्ताल गर्ने समितिले जनाएको छ।

२०७९ फागुन १७ गते प्रदेशको नामकरण कोशी गरिएको थियो। त्यसयता विगत २१ महिनादेखि पहिचानवादी पक्षधर आन्दोलनमा छन्।
14
Shares
३ मंसिर २०८१, सोमबार १८:१७