कार्यक्रममा सबै वर्ग र समूहका दर्शकको उपस्थिति देखिएको र महको प्रस्तुतिमा रमाएको कलाकार किरण केसीले जानकारी दिए । “कार्यक्रममा दर्शकहरूको भीड देख्न पाइयो, जसले यो जोडीप्रतिको दर्शकको माया र सम्मानलाई पुनः एकपटक झल्काएको छ । हामीले विदेशमा समेत यही शीर्षक यसै वर्ष कार्यक्रम गरेका थियौँ । विदेशपछि स्वदेश पाएको माया अद्भुत छ”, कलाकार केसीले भने ।
यो कार्यक्रमलाई मह जोडीको सम्भावित अन्तिम प्रहसन मानिएको छ । यसमा कलाकार श्रेष्ठको स्वास्थ्य चुनौतीका बाबजुद हास्य–व्यङ्ग्यमा निरन्तरता दिने अठोट र कलाकार आचार्यसँगको अटुट सहकार्यका कारण यो प्रहसन सम्भव भएको कलाकार केसीको बुझाइ छ ।‘मह जात्रा’ ले दर्शकलाई समाजमा विद्यमान समसामयिक मुद्दाहरूलाई हास्यशैलीमार्फत प्रस्तुत गर्दै गम्भीर रूपमा सोच्न प्रेरित गर्नेछ । नेपाली समाजका परम्परा, राजनीति, सामाजिक संरचना र सांस्कृतिक कुरीतिहरूलाई गरिएको व्यङ्ग्यलाई दर्शकले रुचाएका छन् ।