उनले दाहालका टिप्पणी तथ्यविहीनमात्र नभइ नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठालाई कमजोर बनाउने खालका रहेको उल्लेख गरे । “सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘चीन कार्ड खेलेको’ आरोप लगाउँदै चीन भ्रमणलाई ‘अपरिपक्वताको प्रमाण’ भनेर व्याख्या गर्नु आधारहीन, गैरजिम्मेवार र नेपालको राष्ट्रिय हित तथा परराष्ट्र नीतिको मर्मविपरीत छ”, विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा यस प्रकारका टिप्पणीहरूले कूटनीतिक मर्यादाको गम्भीर उल्लङ्घन गर्नुका साथै नेपालको सार्वभौमसत्ता र राष्ट्रिय गरिमालाई अपमानित समेत गर्ने जनाइएको छ ।
“प्रधानमन्त्री ओलीको चीन भ्रमण नेपालको स्वतन्त्र परराष्ट्र नीतिको स्पष्ट अभिव्यक्ति हो, जसलाई ‘कार्ड कूटनीति’ भनेर चित्रण गर्नु पूर्ण रूपमा तथ्यहीन र भ्रामक छ । दाहालका यस्ता टिप्पणीहरूले नेपालको आर्थिक विकास र समृद्धिका लागि अत्यन्त महत्त्वपूर्ण साझेदार मित्रराष्ट्र भारत र चीनसँग नेपालको सन्तुलित सम्बन्धमा खलल पुर्याउने जोखिम निम्त्याउँछन् । यस्ता गैरजिम्मेवार अभिव्यक्तिले नेपालले दुवै राष्ट्रसँग निर्माण गरेको सुदृढ, सन्तुलित र सम्मानजनक सम्बन्धलाई कमजोर पार्दछन्”, विज्ञप्तिमा भनिएको छ ।विज्ञप्तिमा नेकपा (एमाले) भारत र चीन दुवैसँग नेपालको सन्तुलित सम्बन्ध कायम गर्ने प्रतिबद्धता दोहोर्याउँदै दाहाललाई आफ्ना अभिव्यक्ति फिर्ता लिन र नेपाली जनतासँग माफी माग्नसमेत एमालेले आग्रह गरेको छ ।