काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकारपछि फेरि माओवादीकै नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् ।
माओवादीको काभ्रे– काठमाडौं सम्पर्क समितिको भेलामा उनले आफूहरु प्रमुख विपक्षी दल रहेको र यो सरकार तलमाथि भएमा आफूहरुकै सरकार बन्ने दाबी गरे ।
‘यही हलमा हो मैले ३२ को संख्यालाई जादुको संख्या भयो भनेको थिएँ, मेरो भनाइले उनीहरुले उद्धेलित र तरंगित भए होलान् । मैले त्यो नभनेको भए पनि हुन्थ्यो होला’, प्रचण्डले भने, ‘अहिले पनि हाम्रो संख्या म्याजिक नै छ । किनभने हामी ३२ भएको हुनाले प्रमुख विपक्षी दलको नेता छ हाम्रो पार्टी त्यो भनेको गभरमेन्ट इन वेटिङ हो, पर्खिराखेको सरकार भन्छ । यो सरकारलाई उल्ट्याएर बन्ने सरकार हाम्रै हो त्यसैले चिन्तित हुने कुरा छैन ।’
पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले माओवादी विभाजनबाट बनेका धेरै पार्टीहरु फेरि एकतावद्ध हुने बताए । कतिपयसँग वार्ता भइरहेको र एकता गर्न हतार गरिरहेको तर कतिपयसँग कुराकानी चलिरहेको उनले बताए ।