चितवनले अनुबन्ध गरेको बोपारा पाँचौ विदेशी खेलाडी हुन् । चितवनले यसअघि नै दक्षिण अफ्रिकाका मर्चेन्ट डे ल्याङ, इंग्ल्ल्याण्डका लुक बेन्केनस्टेइन, अफगानिस्तानका हसन एइसाखिल र नामिबियाका जान निकोल लोफ्टी-इटनलाई अनुबन्ध गरिसकेको छ ।
३९ वर्षीय भेट्रान ब्याटिङ अलराउण्डर बोपाराले इंग्ल्याण्डका लागि १३ टेष्ट, १२० ओडिआई र ३८ टी२०आई खेल खेलेका छन् । उनी ओपनिङ र मिडल अर्डर दुवै पोजिसनमा ब्याटिङ गर्न सक्षम खेलाडी हुन् । दायाँहाते ब्याटिङ गर्ने उनले आफ्नो करियरमा ४७८ टी२० खेलमा ९ हजार ४८६ रन बनाएका छन् भने २९१ विकेट पनि लिएका छन् ।उनले इंग्ल्याण्डको राष्ट्रिय टिमबाहेक आईपीएल, बीबीएल, पिएसएल, सीपीएल, एलपीएललगायत विश्वका धेरै फ्रेन्चाइज टी२० लिग खेलेका छन् । भाइटालिटी टी२० ब्लास्ट र दी हन्ड्रेडमा गरी ५ हजार भन्दा बढी रन बनाएका छन् ।
नेपालको क्रिकेट क्रेजबारे सबैलाई थाहा भएको र हरेक खेलाडी नेपालको समर्थकसामू आएर खेल्न चाहने बताउँदै बोपाराले आफू चितवन राइनोजको जर्सी लगाएर खेल्न उत्साहित रहेको बताएका छन् ।यस्तै चितवन राइनोजका म्यानेजिङ डिरेक्टर आयुष न्यौपानेले बोपाराजस्तो अनुभवी खेलाडीको आगमनले टिमको सन्तुलन राम्रो हुने र उनको अनुभव र नेतृत्वदायी क्षमताले ड्रेसिङ रुमलाई फाइदा पुग्ने बताए ।
युवा अलराउण्ड कुशल मल्ल मार्की प्लेअर रहेको चितवनमा भेट्रान खेलाडी शरद भेषावकर पनि छन् । यस्तै प्रशिक्षकमा उमेश पटवाल छन् ।
एनपीएल यही मंसिर १५ गतेदेखि काठमाडौंमा सुरु हुँदै छ ।