सन् १९९० को दशकमा अन्तर्राष्ट्रिय बक्सिङमा एकछत्र राज गरेका टाइसनलाई चुनौती दिएका पाउल २७ वर्षका छन् । टाइसनले आफूभन्दा ३१ वर्ष कान्छो युवा खेलाडीविरुद्ध पुरानै जोसमा प्रतिस्पर्धा गर्ने बताएका छन् । उनले यसको झल्को पत्रकार सम्मेलनमा दिएका थिए । पाउलले प्रतिक्रिया दिइरहँदा टाइसनले उनको माइक्रोफोन खोसेका थिए । लगभग दुईबिच भिडन्त हुने स्थिति आयो । तर, सुरक्षाकर्मीले दुवैलाई तानेर टाढा लगे ।
विश्व बक्सिङमा टाइसनलाई निर्दयी मुक्केबाज भनिन्छ । उनले एक व्यावसायिक खेलमा विपक्षीका कान टोकेका थिए । ‘म विपक्षीको प्रहारअनुसार उत्तर दिनेछु,’ टाइसनले भने, ‘अहिले म भर्खरका खेलाडीलाई सहजै नकआउट गर्न सक्छु ।’ कार्यक्रम सञ्चालक टेलोरले माहोल तताउने काम गरेका थिए । टेलोरले सुरुमै विश्वकै ‘लेडी किलर’ टाइसन भनी सम्बोधन गरेका थिए । हलमा लेडी किलर शब्द सुनेपछि टाइसन सम्हालिन सकेनन् । उनले टेलोरको पनि माइक्रोफोन खोसे । सन् २०२२ मा टेलोरले लाइट वेट विधामा उपाधि जितेका थिए ।होलिफिल्डविरुद्धको त्यो खेल
सन् १९९७ को कुरो हो । त्यसवेला टाइसन फर्ममा थिए । उनले एक खेलमा तत्कालका विश्व च्याम्पियन इभान्डर होलिफिल्डलाई चुनौती दिएका थिए । टाइसन र होलिफिल्ड आ–आफ्नो बक्सिङ करिअरमा अपराजित जस्तै थिए । यी दुई खेलको प्रमोसन व्यापक गरिएको थियो । आयोजकले यसै खेलबाट करोडौँ डलर कमाए । खेलअगाडि आयोजना भएका प्रत्येक पत्रकार सम्मेलनमा टाइसन र होलिफिल्डबिच झडप हुन्थ्यो । कतिपय अवस्थामा कडा सुरक्षा व्यवस्था तयार परिएको हुन्थ्यो । रिङमा जानुअघिसम्म उनीहरूले एकआपसमा ‘बक्सिङ करिअर’ सिध्याउने चेतावनी दिएका थिए ।
तीन वर्ष जेल
टाइसनको करिअर निकै उतार–चढावका रूपमा बितेको छ । रिङदेखि बाहिरी संसारमा उनी सधैँ विवादमा परिरहे । अन्तर्राष्ट्रिय बक्सिङमा उनलाई इतिहासकै सबैभन्दा विवादास्पद र अस्थिर व्यक्तित्वका रूपमा लिने गरिन्छ । एक निर्विवाद च्याम्पियन खेलाडी बलात्कारका लागि तीन वर्षको जेल सजाय भोगेका थिए । बिहीबार आयोजित पत्रकार सम्मेलनमा टाइसनका विगतका फोटो स्मरण हुँदा ती विवादित पक्षहरू समेटिएका थिए । टाइसनले ती क्षणहरूलाई गम्भीरतापूर्वक हेरेका थिए ।