विराटनगर । मोरङ र सुनसरीबाट लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर)सहित ५ जना पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–१७ मटेरुवाबाट आइतबार २ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार विराटनगर–११ पिचराका ३७ वर्षीय राजेन्द्र पोखरेल र विराटनगर–१० तीनटोलियाका ४२ वर्षीय कुशल थापा पक्राउ परेका हुन् । उनीहरको साथबाट ५ सय ९० मिलिग्राम खैरो हेरोइन बरामद भएको छ ।
त्यस्तै, विराटनगर–१६ हुलास चोकबाट आइतबार साँझ १ जना पक्राउ परेका छन् । मोरङको सुन्दरहरैँचा नगरपालिका–६ का ३२ वर्षीय युवराज खड्कालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार खड्काको साथबाट ३ ग्राम ६४ मिलिग्राम खैरो हेरोइन बरामद भएको छ ।
उता सुनसरीको धरान उपमहानगरपालिका–३ बाट प्रहरीले आइतबार राति २ जनालाई पक्राउ गरेको छ । धरान–१५ का २४ वर्षीय राम श्रेष्ठ र धरान–१६ का २२ वर्षीय मेलिना राईलाई पक्राउ गरिएको जानकारी प्रहरीले दिएको छ ।
इलाका प्रहरी कार्यालय धरानको टोलीले श्रेष्ठ र राईको साथबाट ५ सय २० मिलिग्राम खैरो हेरोइन बरामद गरेको छ । पक्राउ परेकाविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ ।