विराटनगर । मनमोहन प्राविधिक विश्वविद्यालयले कानुनमा स्नातक र स्नातकोत्तर पढाई सुरु गर्ने भएको छ । विश्वविद्यालयले विराटनगरमा कलेज स्थापना गरेर मंसिरदेखि पठनपाठन सुरु हुने गरी बिबिएएलएलबी र अपराधशास्त्रमा एलएलएम कक्षा सुरु गर्ने भएको हो ।

स्नातकतर्फ नेपालमै पहिलो पटक बिबिएएलएलबीको पाठयक्रम निर्माण गरेर पढाई सुरु गर्न लागेको विश्वविद्यालयका उपकुलपति डा. सुवासश्री पोखरेलले जानकारी दिए ।

‘कानुनमा दक्ष जनशक्ति उत्पादन गर्न नयाँ नमुना कोर्ष निर्माण गरेर पठनपाठन सुरु गराउन लागेका हौं’, उपकुलपति पोखरेलले भने । उनका अनुसार बिबिएएलएलबीको कोर्ष ५ बर्षको हुनेछ ।

विद्यार्थीहरुले ४ लाख ५० हजारमै कोर्ष पुरा गर्न पाउने उनले बताए । मनमोहनले नयाँ कोर्ष अनुसार कानुन पढन चाहने विद्यार्थीहरुलाई विशेष छात्रवृत्ति व्यवस्था पनि गरेको छ । महिला, दलित लगायतलाई ४५ सिटको कोटा मध्येबाट दश प्रतिशत छात्रवृत्ति प्रदान गरिनेछ ।

विश्वविद्यालयका कानुनी सल्लाहकार कोषराज न्यौपानेका अनुसार नयाँ कोर्ष अनुसार बिबिएएलएलबी र एलएलएमतर्फ कानुनी शिक्षा पढाउन विदेशबाट समेत विज्ञ शिक्षकहरु ल्याइनेछ । कानुन पढन चाहने विद्यार्थीहरुले कात्तिक मसान्तभित्र अनलाइन मार्फत आवेदन दिइसक्नुपर्नेछ ।

कोशी प्रदेश सरकारले स्थापना गरेको देशकै पहिलो प्राविधिक विश्वविद्यालय मनमोहनमा हालसम्म सिभिल र इलेक्टोनिक्स एण्ड इलेक्टिक, इन्जिनियरिङमा स्नातक, विफर्मातर्फ स्नातक र अस्पताल व्यावस्थापनतर्फ स्नातोकोत्तर पढाई सुरु गरिसकेको छ ।

२०७६ मा स्थापना भएको यो विश्वविद्यालयले दश बर्षभित्र तीन वटा स्कुलअन्र्तगत विभिन्न २८ विषयमा पिएचडीसम्मको पठनपाठन गराउने लक्ष्य लिएको छ ।

7
Shares
२५ कार्तिक २०८१, आईतवार १०:२७