काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सभापति रवि लामिछानेलाई पक्राउ गरेर हिरासतमा राख्नु रास्वपाको प्रभाव र जनसमर्थन दबाउने षड्यन्त्र भएको निश्कर्ष निकालेको छ ।

शनिबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले लामिछानेविरुद्धको कारबाही राजनीतिक प्रतिशोधको निकृष्ट काम भएको ठहर गरेको छ । ‘यो कारबाही सत्तारुढ राजनीतिक दलहरूले रास्वपाको बढ्दो प्रभाव र जनसमर्थनलाई दबाउन गरेको सुनियोजित षड्यन्त्र हो भन्ने हाम्रो ठम्म्याइ छ’, बैठकपछि पार्टीका कार्यबाहक प्रवक्ता मनिष झाले विज्ञप्तिमा भनेका छन् ।

संसदीय छानबिन समितिले बुझाएको प्रतिवेदनको पृष्ठ नं. ४४९ मा गोरखा मिडिया प्रालिमा सहकारीको रकम लैजाने प्रक्रियामा लामिछानेको संलग्नता पुष्टि हुने कुनै पनि कागज प्रमाण नभेटिएको तथ्य उल्लेख भएको रास्वपाले जिकिर गरेको छ । तर वर्तमान सत्ता गठबन्धनले रास्वपालाई राजनीतिक रुपमा निषेध गर्न सभापति लामिछानेलाई पक्राउ गरेको कार्यबाहक प्रवक्ता झाले बताए ।

सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा अनुसन्धानका लागि २ कात्तिकमा पक्राउ परेका लामिछाने हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । उनीविरुद्ध प्रहरीले सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान गरिरहेको छ ।

14
Shares
२५ कार्तिक २०८१, आईतवार ०५:४८