मोरङ । मोरङको ग्रामथान गाँउपालिकाको अध्यक्षमा नेपाली कांग्रेसले बलराम सरदारलाई उम्मेदवार बनाउने भएको छ । बिहीबार विराटनगरमा बसेको पार्टीको मोरङ जिल्ला संसदीय समितिले मंसिर १६ गते हुने उपनिर्वाचनका लागि कांग्रेसको तर्फबाट सरदारलाई उम्मेदवार बनाउने भएको हो ।
कांग्रेस मोरङ जिल्ला कार्य समितिका उपसभापति भक्तिनाथ माझीका अनुसार संसदीय समितिले ग्रामथान गाँउपालिका २ का सरदारलाई उम्मेदवार बनाउने निर्णय गरेको जानकारी दिए । उपनिर्वाचन केन्द्रित भएर जिल्लामा परिचालन समितिले सबैलाई खटाउने माझीले बताए । उनले भने, ‘हामीले आजको बैठकबाट साझा निर्णय गरेका हौं । अब छठ सकिएसँगै उपनिर्वाचनका लागि परिचालन समिति, क्षेत्रीय समिति, पालिकालगायतको संयुक्त समिति निरन्तर पालिकामा होमिनेछ ।’
पेट्रोल पम्प व्यवसायीसमेत रहेका सरदार पार्टीको पूर्व महाधिवेशन प्रतिनिधि र हाल जिल्ला कार्य समिति सल्लाहकार रहेका छन्। ग्रामथानका अध्यक्ष जयप्रकाश गच्छदारको हृदयघातबाट मृत्यु भएपछि उपनिर्वाचन हुन लागेको हो । उनी २०७९ सालमा कांग्रेसबाट पालिका अध्यक्षमा विजयी भएका थिए ।